यसरी गऱ्यो गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीको सुविधासम्बन्धी निर्णयको बचाउ

यसरी गऱ्यो गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीको सुविधासम्बन्धी निर्णयको बचाउ


गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको भन्दै आइतबार मन्त्रिपरिषदले गरेको निर्णयको बचाउ गरेका छन् ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर आर्थिक भार बढाउन खोजेको सन्दर्भ व्यापक आलोचनाको विषय बनिरहेको परिवेशमा गण्डकी प्रदेश सरकारका प्रवक्ताको यस्तो धारणा आएको हो ।

सुविधा थपेर आर्थिक भार बढाउन खोजिएको भन्ने विभिन्न सामाजिक सञ्जालमा प्रतिक्रिया आएकोप्रति लक्षित हुँदै उनले भनेका छन्, ‘पूर्व मुख्यमन्त्रीलाई सुविधा थपेर आर्थिक भार बढाउन खोजिएको होइन । तर, जहाँसम्म नागरिकको चासो छ, हामी उहाँहरुको भावनालाई सम्मान गर्छौँ ।’

प्रदेशमा बनेका हालसम्मका कानूनमा पूर्व मुख्यमन्त्रीका बारेमा कहीँकतै उल्लेख नभएकाले मर्यादाक्रम, सुरक्षा व्यवस्थालगायत विषयलाई कानून बनाएर व्यवस्थित बनाउन खोजिएको प्रवक्ता खड्काको तर्क छ ।

बैठकमा प्रदेशसभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनले प्रमुख प्रतिपक्षी दलका नेताको सेवा सुविधाको बारेमा प्रष्ट उल्लेख गरेको बताउँदै उनले भनेका छन्, ‘उहाँले त्यहीअनुसार सुविधा पाउनुहुन्छ, आम नागरिकले व्यक्त गर्नुभएजस्तो यस्तो महामारीका बेला खर्च बढाउने निर्णय गरेको होइन ।’

देशमा प्रदेश सरकारको अभ्यास भर्खरै शुरु भएकाले धेरै विषय संस्थागत भइनसकेको र भर्खरै मात्र पृथ्वीसुब्बा गुरुङ निवर्तमान भएपछि बल्ल पूर्वमुख्यमन्त्रीको सुविधा र सम्मानको प्रसङ्ग आएको उनले जिकिर गरे । कोरोना नियन्त्रण र खोपको व्यवस्थापन नै सरकारको प्राथमिकतामा रहने बताउँदै उनले खर्च बढ्ने गरी कुनै निर्णय नगरेको दाबी गरे ।