सोमाली सेनाको कारबाहीमा १६ जना अल-शबाब विद्रोहीको मृत्यु

सोमाली सेनाको कारबाहीमा १६ जना अल-शबाब विद्रोहीको मृत्यु



सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल-शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् ।

त्यहाँका सैनिक प्रवक्ता अरब धिग अहमदलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोहीविरुद्ध कारबाही गरेको हो ।

विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै सशक्त प्रतिरोध गर्ने प्रयास गरे पनि उनीहरु सफल नभएको अहमदले जानकारी दिए । सेनाको रेडियोमा बोल्दै उनले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहने जानकारी पनि दिए ।

जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल-शबाबविरुद्ध सोमाली सेनाले निरन्तर सैन्य कारबाही अघि बढाएको छ । यस क्षेत्रका कैयौँ गाउँमा अल-शबाबले नियन्त्रण कायम गर्नुका साथै सेनाका अभियानलाई अवरोध गर्न बारुदी सुरुङ बिछ्याउने गरेका छन् ।