- आरपी उपाध्याय, नवलपरासी
निवर्तमान मन्त्री एवम् स्वतन्त्र राजनीतिक समुहका नेता हृदयेश त्रिपाठीले नेपालको राजनीतिक दलहरुमा शृङ्खलाबद्ध रूपमा हुँदै आएको अनपेक्षित घटनाका कारण संविधान नै खतरामा परेको बताएका छन् । स्वतन्त्र राजनीतिक समूह पश्चिम नवलपरासीको आयोजनामा परासीमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र समुहका केन्द्रिय संयोजक समेत रहेका पूर्वमन्त्री त्रिपाठीले हालको राजनीतिक परिस्थिति नेपालका राजनीतिक दलहरुको हातबाट बाहिर गइ अदालत काबुमा पुगेको धारणा राखे ।
दलहरू आफ्नो नीति, सिद्धान्त र मर्यादामा नबस्दा आपसी असन्तुष्टि बढ्दै विभाजन देखापर्दै गरेकोले हालको अशुभ संकेत देखिएको र, यसले संविधान नै समाप्त हुने संकेत देखिएको नेता त्रिपाठीको भनाइ थियो ।
यतिबेला संसद्को अभावमा संविधान घाइते भएको छ । नेताहरू कुर्सीका लागि दौडधुप गरिरहेको र दलभित्रै आन्तरिक खिचातानी तथा जुँगाको लडाइँले नेताहरू संविधान जोगाउनुभन्दा संविधानलाई झनै जोखिममा पार्न उद्यत् रहेको नेता त्रिपाठीले आरोप लगाए ।
पत्रकार सम्मेलनमा नेता त्रिपाठीले संविधान जोगाउन यतिबेला दुई विकल्प देखिएको भन्दै पहिलो विकल्प संसद् पुनःस्थापना र दोश्रो विकल्प चुनाव रहेको बताए । अबका दिनहरूमा सबै दल मिलेर संविधानलाई जोगाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
नेता त्रिपाठीले पत्रकार सम्मेलनमार्फत स्वतन्त्र राजनीतिक समूहले आफ्नो दल निर्माण र दर्ता प्रक्रिया पनि अगाडि बढाएको जानकारी दिँदै विभिन्न विज्ञहरुलाई राखेर दल निर्माणका लागि वैचारिक दस्तावेज बनाउने कार्य करिव करिव अन्तिम चरणमा पुगिसकेको खुलासा गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यतालाई अंगिकार गरि अगाडि बढिएको र दल निर्माणका लागि पूर्व पश्चिम गरि दुई ठुला भेला सकेर काठमाडौंमा भेला गरी दलको नामाकरण र पार्टी घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराउने योजना रहेको नेता त्रिपाठीले बताए । सो पत्रकार सम्मेलन स्वतन्त्र राजनीतिक समूह नवलपरासीका संयोजक राधेरमण पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया