एघार अभियुक्त पक्राउ, प्रहरीको प्रशंसा
- एस. क्षेत्री, कपिलवस्तु
आफ्नै पत्नीको योजनामा नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या भएको तथ्य सार्वजनिक भएको छ । नेता पाण्डेकी पत्नी महिमा पाण्डे र उनीसँग अनैतिक सम्वन्ध कायम रहेका कपिलवस्तु नगरपालिका वडा नंं. १ का ३३ वर्षीय प्रकाश भन्ने ओमप्रकाश यादवको योजनामा नेता पाण्डेको हत्या भएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
विगत २-३ वर्षदेखि नै श्रीमान् दीपक पाण्डेयलाई हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामा गत जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नं. ६ गोबरी सडक खण्डमा नेता पाण्डेको हत्या भएको थियो । पत्नी महिमा र ओमप्रकाश दुवै जना मिलेर दीपकको हत्या कपिलवस्तु नगरपालिका वडा नंं. २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरी गराएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
दीपकलाई हत्या गर्ने व्यक्तिहरुलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण गरेको आरोपमा कपिलवस्नु नगरपालिका वडा नं. १ कैलाश टोलका ३५ वर्षीय पूर्णवीरपाल्पाली, कपिलवस्तु नगरपालिका वडा नंं. २ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका वडा नंं ४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, यशोधरा गाउंपालिका वडा नंं. ४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका वडा नंं. १ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका वडा नंं २ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।

पक्राउ परेका पुर्णवीर उपर नेता पाण्डेको हत्यापछि हत्यामा प्रयोग गरिएको कटुवा पेस्तोल १ थान र २ राउण्ड गोलीसहित हत्यारा आरोपी शाकिर अली पखियालाई आफ्नो घरमा राती सुत्न दिई अपराधीलाई संरक्षण गरी उक्त हतियार लुकाइदिएको र उनकै घरबाट सो हतियार बरामद भएको अभियोग छ । सद्दाम हुसेन खान उपर शाकिर अली पखियालाई हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेको आरोप छ ।
राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेउपर गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेको आरोप छ भने गोलु भन्ने राधेश्याम चौधरीउपर साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेको अभियोग छ । यस्तै सिरिया भन्ने श्रीराम कुर्मीउपर साकिर अली पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेको आरोप छ । मोटे भन्ने नसरत अली उपर प्रकाश भन्ने ओम प्रकाश यादवबाट १ लाख रुपैया लिई हतियार खरिद गरेर ओम प्रकाश यादवलाई उपलब्ध गराएको आरोप छ । प्रवीण गुप्ताउपर मोटे भन्ने नसरत अलीबाट ३७ हजार रुपैया नगद लिई साकिर अली पखियाबाट हतियार लिई ओम प्रकाश यादवलाई हतियार दिएको आरोप छ ।

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली माइक ह्वीस्की नामको अप्रेशनमा खटिएको थियो । अप्रेशनले घटना घटेको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहितका अन्य संलग्न सबै ११ जना पक्राउ गर्न सफल भएको छ ।
तीनवटा पेस्तोल र हतियार कारोवारमा संलग्न व्यक्तिहरुसहित पक्राउ परेका कारण जिल्लामा अपराधका घटनामा कमी आउन सक्ने अनुमान गरिएको छ । प्रहरीको यो अप्रेशनलाई जिल्लाका सबै राजनैतिक दल, नागरिक समाज र आम सर्वसाधारणले प्रशंसा गरेका छन् ।
प्रतिक्रिया