- कपिलवस्तु प्रतिनिधि
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तुले भारतबाट अवैध रुपमा भन्सार छली नपाल भित्र्याइएको एमएस बिलेट (फलाम)सहितको भारतीय मालबाहक ट्रेलर ट्रक नियन्त्रणमा लिएको छ । कपिलवस्तुको कृष्णनगर नाकाबाट नेपालतर्फ भित्रिएको सो मालबाहक ट्रेलरमा लुकाइछिपाइ ल्याइएको ४७ वटा एमएस बिलेट (फलाम) बरामद गरेको छ ।
सो फलामलाई अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको विषेश सूचनाको आधारमा कृष्णनगर नगरपालिका वडा नम्बर २ मेनरोडस्थित चेक प्वाइन्टमा सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डको टोलीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले भारतबाट नेपाल आएको युपी ५३ सिटी २११९ नम्बरको ट्रेलर ट्रकमा रहेको सामाग्रीसहित करिब ८२ लाख ४५ हजार ६ सय ३२ रुपैयाँ मुल्य कायम गरी कारवाहीका लागि कृष्णनगर भंसार कार्यालय चलान गरेको छ । बरामद ४७ वटा एमएस बिलेट (फलाम)को तौल ३४ दशमलव ४ सय मेट्रिक टन रहेको खुल्न आएको छ ।
नियन्त्रणमा लिएको सवारी र सामाग्रीसँगै गाडीमा सवार रहेका चालक र सहचालक भारतको वरियातपुर कुशीनगरका संजय कुमार कुशवाह र अंगत कुमार कुशवाहलाई कारवाहीका लागि भन्सार पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया