कालीगण्डकी उर्लिंदा बगे नौ घरधुरी

कालीगण्डकी उर्लिंदा बगे नौ घरधुरी



गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो ।

मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो ।

स्थानीयवासी तिलक पराजुलीले दिएको जानकारीअनुसार मङ्गलबार दिउँसो बहाब केही घटे पनि साँझ फेरि बढेर घर बगाएको हो । बताइएअनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको छ ।

pict:rss

अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । कालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो । बाढीले भत्काएका घरबाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालेका छन् भने अहिलेसम्म मानवीय क्षतिचाहिँ नभएको बताइएको छ ।

अहिले स्याङ्जातर्फको बजार पूर्ण रुपमा विस्थापित हुने खतरा रहेको छ । त्यसैगरी विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिलानजिकै रहेका सत्तलहरु समेत बगाएको छ । सेतिवेणीमा रहेको प्रहरीचौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।