उत्तर कोरियामा खाद्यसङ्कट, नेता किमद्वारा अवस्था तनावपूर्ण बन्दै गएको स्वीकारोक्ति

उत्तर कोरियामा खाद्यसङ्कट, नेता किमद्वारा अवस्था तनावपूर्ण बन्दै गएको स्वीकारोक्ति



उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका योन्हापले उल्लेख गरेको छ ।

गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले मागअनुसारको उत्पादनमा जोड दिने गरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिएका छन् ।

उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् ।

उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।

यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ ।

सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे धारणा राखेका थिए । बैठक यो हप्ता राजधानी प्योङ्याङ्गमा सुरु भएको हो ।

बैठकमा नेता किमले गएको वर्षको तुलनामा यो वर्ष औद्योगिक उत्पादन एक चौथाईले बढेको बताएका छन् भने बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने बताइएको छ ।