कोरोना भाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ ।
जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो ।
कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्देश्यले ‘भ्याक्सीन पासपोर्ट’को अभ्यास सुरु भएको छ ।
भारतले पनि कोरोनाभाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सीन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ ।
दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
“यस बारेमा हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभरी नै छलफलको विषय बनिरहेको छ,” उनले भनेका छन् ।
कतिपय विकासशिल मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टिकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे ।
“‘भ्याक्सीन पासपोर्ट’भन्दा ठूलो कुरा सबैले समान रुपमा भ्याक्सीन पाउनु पर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ,” उनको भनाइ छ ।
प्रतिक्रिया