कांग्रेसको शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने सबै राजनीतिक दल, राजनीतिक दलका नेता र प्रतिनिधिसभाका सदस्यबीचको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलबीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरिएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्नका लागि दाबी गर्न आह्वान गरेअनुसार राजनीतिक दल र दलका नेताहरूको सहमतिबमोजिम कांग्रेसका सभापति देउवाले बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
‘राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा सदस्य देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको विषय संविधानको धारा ७६ (५) विपरीत भएको कुरामा यो बैठक स्पष्ट छ । राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध हामी संवैधानिक उपचारका लागि सर्वोच्च अदालतमा गएका छौँ’, काङ्ग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको व्यवस्थाबमोजिम १३६ प्रतिनिधिसभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्न पर्याप्त हुने अवस्था रहेको र सांसद देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दाबीमा प्रतिनिधिसभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षरसमेत रहेको कांग्रेसले स्पष्ट पारेको छ ।
सभापति देउवाका सभापतित्वमा सम्पन्न बैठकमा रामचन्द्र पौडेल, बलबहादुर केसी, मानबहादुर विश्वकर्मा, एनपी साउद, डा चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, देवेन्द्रराज कँडेल, बीरबहादुर बलायर, बाबुराम बस्नेत तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, शम्भुलाल श्रेष्ठ र दयाराम पाण्डेले आ-आफ्नो धारणा राखेका थिए ।
pict:rss
प्रतिक्रिया