पेरूमा बस दुर्घटनामा परेर कम्तिमा २७ ब्यक्तिको मृत्यु

पेरूमा बस दुर्घटनामा परेर कम्तिमा २७ ब्यक्तिको मृत्यु



दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बताइएको छ ।

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा गई घाइतेहरूलाई उद्धार गरेर नजिकैको अस्पताल लगेका थिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
–––