जलस्तर बढेपछि प्रसिद्ध धार्मिकस्थल परशुरामधाम जोखिममा

जलस्तर बढेपछि प्रसिद्ध धार्मिकस्थल परशुरामधाम जोखिममा


  • डम्बर निदाल, डडेल्धुरा

करिव एक हप्तादेखि लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीसँगै रहेको जिल्लाको भित्री मधेशमा अवस्थित प्रसिद्ध धार्मिक स्थल परशुरामधाम खतराको जोखिममा परेको छ । भगवान् बिष्णुको छैटौँ अवतार परशुरामले हजारौँ वर्ष यज्ञतप गरेको पवित्र तीर्थस्नान परशुरामधाम क्षेत्र महाकाली नदीमा पानीको बहाव बढ्दै जाँदा धार्मिक पर्यटकीय क्षेत्र परशुरामधाम बाढीको संकटमा परेको हो ।

लगातारको वर्षातबाट दार्चुलाबाट बगेर आउने महाकाली नदीमा पानीको जलस्तर बढ्दा जनजीवन मात्र नभइ परशुरामधाम पनि जोखिममा रहेको भन्दै चिन्तित भएको स्थानीय बताउँछन् । स्थानीय बासिन्दाका अनुसार निरन्तर पानी परिरहेका कारण भित्रीमधेशको मुख्य बसोबास महाकाली र रंगुन नदीको उच्च जोखिममा रहेको छ ।

जेठ २९ गतेदेखि अबिरल रुपमा परेको पानीले नदीको जलस्तर बढेर खतराको मापन ७ मिटरको नजिक रहेको जल तथा मौसम विज्ञान विभाग अत्तरिया कैलालीले जानकारी दिएको छ ।

अबिरल वर्षाका कारण आइतबार बिहान ८ बजेसम्मको अपडेटमा महाकाली नदी र परशुरामधाममा ६ मिटर ४५ सेन्टिमिटरमा रहेको कार्यालयले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० मीटर भन्दा बढी भयो भने चेतावनी र ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।

दार्चुला, बैतडी, डडेल्धुरा भएर बग्ने सिमाबर्ती नदी महाकालीमा पानीको बहाव बढेकोले नदी आसपासका नागरिकहरूलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।