उपत्यकामा सात दिन थपियो निषेधाज्ञा, यातायातमा जोरबिजोर प्रणाली

उपत्यकामा सात दिन थपियो निषेधाज्ञा, यातायातमा जोरबिजोर प्रणाली


कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको हो ।

८ गतेदेखि लागु हुनेगरी पछिल्लोपटक एक साता थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । नयाँ मोडालिटीअनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ । जसअनुसार असार ८ गतेदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल खुल्नेछन् भने सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिइने छ । तरकारी, खाद्यान्न र फलफूलका पसल हरेक दिनबिहान ११ बजेसम्म खुल्नेछन् भने बारको आधारमा बिहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न पाइने बैठकको निर्णय छ ।

काठमाडौं उपत्यकामा जोर बिजोरका आधारमा आधारमा निजी सवारी साधन चल्ने भएका छन् । सबै सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वाास्थ्यकर्मी, कृषि, मल, बिउविजन, पशु चिकित्सकलगायत अत्यावश्यक सवारी साधन निर्वाध रुपमा रुपमा सञ्चालन हुनेछन् ।

निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा बढीमा तीनजना मात्र सवार हुन पाउने छन् । मोटरसाइकल, स्कुटी जोरबिजोर प्रणालीमा चल्नेछन् ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन् ।

पत्रकार तथा सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागको प्रेस पासको आधारमा आवतजावत गर्ने र सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका पत्रकारको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सक्ने बताइएको छ ।