नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताउनुभएको छ ।
लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली काग्रेसको १४औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्र्रियामा उहाँले विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा निकै कमजोर बनेको बताउनुभएको हो ।
‘पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भए पनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,’ उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले चार जना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशनको बारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षको जिम्मेवारी दिएपनि सरकारको कार्यशैली र सत्तापक्षको झगडाका कारण कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा जान बाध्य हुनुपरेको बताउनुभयो ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य गीता वाग्ले, विजुला बर्मा, नरोत्तम बैद्य, प्रभात तामाङलगायतले कुनै पनि बहानामा काँग्रेसको १४औँ महाधिवेशनलाई आलटाल गरेर सार्ने षड्यन्त्र नगर्न नेतृत्वलाई सुझाव दिनुभयो । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, चितवनका सभापति जीतनारायण श्रेष्ठ, दोलखाका सभापति रुद्र खड्का, धादिङका सभापति रमेश धमलालगायतले कांग्रेसभित्र चाँडो क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिवेशन प्रक्रियामा जानुपर्नेमा जोड दिनुभएको थियो ।
अभियानका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लोकतन्त्रलाई बलियो बनाउन र तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि निरन्तर छलफल र बहस चलाइरहने बताउनुभयो । उक्त अभियानले यसअघि प्रदेश १ र प्रदेश २ मा छलफल सञ्चालन गरिसकेको छ ।
प्रतिक्रिया