‘म फरक खालको व्यक्ति हुँ, हस्तक्षेप गर्दिनँ तर जिम्मेवारीअनुसारको परिणाम चाहन्छु’

‘म फरक खालको व्यक्ति हुँ, हस्तक्षेप गर्दिनँ तर जिम्मेवारीअनुसारको परिणाम चाहन्छु’



सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन

गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको रूपमा शुक्रबार पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पारे, साथै आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई उनले निर्देशन दिए ।

आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आ-आफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए अनि जिम्मेवारीअनुसार आफूलाई कामको सकारात्मक परिणाम चाहिने जिकिर गरे । गृहमन्त्री पौडेलले भने- ‘नतिजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु ।’

उनले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई आग्रह गरे । सरकारबाट गर्नुपर्ने काममा कुनै कमी नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि उनले प्रष्ट्याए ।

गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिँदै शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । राजनीतिक परिस्थितिबाट गृह प्रशासन अलग हुनुपर्नेमा उनले जोड दिए ।

ज्ञातव्य छ, मन्त्री पौडेलले गृह मन्त्रालयसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हालेका छन् । सर्वाेच्च अदालतको आदेशपछि गत वैशाख ३१ मा गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार १० को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री पौडेललाई ती मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकिएको थियो ।