भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट



भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिव पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको पीटीआईले जनाएको छ ।

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १ः४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ ।

दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो ।

विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको छ भने घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको जनाइएको छ ।