‘कांग्रेस प्रचण्डपथमा टाँसियो, माधव प्रचण्डका मामुली कार्यकर्ता बने’ : प्रधानमन्त्री ओली

‘कांग्रेस प्रचण्डपथमा टाँसियो, माधव प्रचण्डका मामुली कार्यकर्ता बने’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालतले रोक्न नसकेको बताउनुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अदालतमा हिंसालाई दुरुत्साहन गर्ने काम हुन नहुने जनाउँदै प्रश्न गर्नुभयो, ‘विद्वान् अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र ?’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा एक अधिवक्ताले फ्रान्स र बेलायतका घटनाको उदाहरण दिँदै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुन सक्ने चेतावनी दिएका थिए । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले विपक्षी गठबन्धनका नाममा नेपाली कांग्रेस पार्टी नेकपा (माओवादी केन्द्र) को प्रचण्डपथसँग टाँसिन पुगेको र एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मामुली कार्यकर्ता हुँदा नै रमाइरहेको व्यङ्ग्य गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको खोजी गर्ने र नभेटिएमा आफैं गोड्से बन्न तयार हुने भनेर कांग्रेसका नेताहरुले भन्न थाल्नु प्रचण्डपथकै प्रभाव भएको तर्क राख्नुभयो ।