काङ्ग्रेसमा ‘सभापतिहरू’को ताँती !

काङ्ग्रेसमा ‘सभापतिहरू’को ताँती !



नेताहरूको व्यवस्थापनमा गम्भीर चुनौती

नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउनेहरूको सङ्ख्या एक दर्जनसम्म पुग्न सक्ने देखिएको छ । आगामी भदौमा हुने महाधिवेशनमा आफू पुनः उम्मेदवार बन्न चाहेको जानकारी सभापति शेरबहादुर देउवाले दिनुभएको छ । अर्को एउटा कार्यकालका निम्ति सभापति बन्न उहाँले आवश्यक गृहकार्य शुरु गरिसक्नुभएको छ । अठहत्तर वर्षीय देउवा चौरासी वर्षसम्म मात्र राजनीतिमा क्रियाशील हुन चाहेको र, त्यसपछि पत्नी र पुत्रलाई राजनीति हस्तान्तरण गर्ने योजना बनेको बुझिएको छ । चौधौँ महाधिवेशनमा छोरा जयवीर सिंह देउवालाई महाधिवेशन प्रतिनिधि बनाएर ल्याउने र, कुनै तरिकाले केन्द्रीय सदस्यसम्म बनाउने गृहकार्यमा देउवा परिवार रहेको बताइएको छ ।

तेह्रौँ महाधिवेशनमा कोइराला पक्षको समर्थनबाट सभापतिको उम्मेदवार बनाइनुभएका रामचन्द्र पौडेल पनि एकपटक फेरि सभापतिको उम्मेदवार बन्न रहर गर्दै हुनुहुन्छ । कोइराला पक्षले समर्थन नगरे पनि उम्मेदवार बन्नुपर्ने बाध्यात्मक अवस्थामा पौडेल हुनुहुन्छ । त्यसैगरी डा. शेखर कोइरालाले पनि देउवालाई टक्कर दिने मानसिकता बनाउनुभएको छ । विगत तीन वर्षदेखि नै कोइरालाले आफूलाई ‘सभापतिको निम्ति’ तयार गर्दै आउनुभएको थियो । आफ्नो टोलीसहित देशब्यापी दौडाहा गर्दै आउनुभएका डा. शेखरलाई देउवाविरोधी खेमाको सबैभन्दा बलियो, उपयुक्त र लोकप्रिय नेताका रूपमा लिइन्छ ।

उता महामन्त्री डा. शशाङ्क कोइरालाले पनि सभापतिमै उम्मेद्वारी दिने आकाङ्क्षा राख्नुभएको छ । बीपीको विचार परित्याग गरे पनि काङ्ग्रेस पार्टीमा सबैभन्दा सम्मानित नाम बीपी कोइराला नै रहेको छ । बीपीको सहोदर पुत्र भएकाले शशाङ्कलाई सहानूभूतिको भारी मत प्राप्त हुने विश्वास गरिन्छ । काङ्ग्रेसका पुराना नेता गोपालमान श्रेष्ठ तथा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि र गणेशमानपुत्र प्रकाशमान सिंह पनि सभापतिमा उम्मेदवारी दिने मानसिकतामा हुनुहुन्छ । नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी र डा. नारायण खड्का भने राम्रो टीम नबनेमा आफैं सभापतिको उम्मेदवार बन्ने मानसिकतामा रहनुभएको बुझिन्छ । डा. खड्का हिन्दूराष्ट्रको एजेण्डासहित मैदानमा उत्रने मानसिकतामा रहनुभएको बताइन्छ । अन्य कुनै वरिष्ठतम नेताहरू हिन्दूराष्ट्र पुनःस्थापना र सङ्घीयता खारेजीको मुद्दा लिएर अगाडि नआएको स्थितिमा युवा नेता शङ्कर भण्डारी उक्त मुद्दासहित सभापति पदमा उम्मेदवारी दिने मानसिकतामा रहनुभएको छ । काङ्ग्रेसमा राष्ट्रवादी धारको खुलस्थ प्रतिनिधित्व गर्ने नेताका रूपमा भण्डारीको नाम स्थापित भएको छ ।

त्यसैगरी पूर्वमहामन्त्री एवम् सभापतिका पूर्वउम्मेदवार कृष्णप्रसाद सिटौला र युवा नेता कल्याण गुरुङले पनि चौधौँ महाधिवेशनमा आफूहरूलाई सभापतिकै उम्मेदवारका रूपमा प्रस्तुत गर्नुहुने भएको छ । काङ्ग्रेसभित्र चाणक्यका रूपमा चिचिनुहुने सिटौला आफैं सभापतिमा विजयी बन्ने सम्भावना नदेखिए पनि दोस्रो चरणमा उहाँको मत निर्णायक हुन सक्ने ठानिएको छ । उहाँहरू बाहेक गिरिजापुत्री सुजाताले पनि सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।

सम्भावित उम्मेदवारहरूको ताँती हेर्दा चौधौँ महाधिवेशनमा पनि पहिलो चरणबाट कुनै व्यक्ति सभापति चुनिन सक्ने अवस्था देखिँदैन । तेह्रौँ महाधिवेशनमा झैँ चौधौँ पनि नीतिगत नभइ नेतागत छलफलमै सीमित रहने प्रबल सम्भावना छ । संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, गैरजातिवादी अवधारणा र संसदीय प्रजातन्त्रको पुरानो एजेण्डालाई काङ्ग्रेसले परित्याग गरी उसले आफूलाई वामपन्थी पार्टीका रूपमा अगाडि बढाएको छ । काङ्ग्रेस आफ्नो मौलिक विचार पुनःस्थापनाको पक्षमा नभएको हुँदा महाधिवेशन वैचारिक या नीतिगत बहसमा सामेल हुने अवस्था छैन । नेतागत छलफलमै महाधिवेशन प्रतिनिधिहरू सीमित रहने भए पनि यसपटकको निर्वाचनमा कोइराला र देउवा पक्ष भनेर दुई कित्तामा उम्मेदवार बाँडिने स्थिति भने छैन ।

कोइराला पक्षको भनेर चिनिएका पौने एक दर्जन तथा देउवा पक्षमा गणना भएका कम्तिमा चार नेताहरू सभापतिमा उम्मेदवारी दिने तयारीमा भएकोले दुवै खेमा चिरा–चिरामा विभाजित भएर मैदानमा खडा हुन सक्ने देखिन्छ । पहिलो चरणमा सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा हुँदा मात्र काङ्ग्रेसमा दुई खेमा प्रकट हुनेछ । दोस्रो चरणमा देउवासँग दुईमध्ये एक डा. कोइरालासँग प्रतिष्पर्धा हुन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । यतिबेला नेताहरूको हुल कतापट्टी ज्यादा रहन्छ तिनैले ‘बाजी मार्ने’ अनुमान गर्न सकिन्छ ।

वर्तमान महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत र बालकृष्ण खाणमध्ये क-कसले महामन्त्री र उपसभापतिमा उम्मेदवारी दिने भन्ने यकीन भइसकेको छैन । युवा नेताहरू एनपी साउद र चन्द्र भण्डारीले महामन्त्रीका निम्ति उम्मेदवारी दिनुहुने बुझिएको छ । युवा नेता डा. मीनेन्द्र रिजाल र प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमै उम्मेदवारी दिनुहुने भएको छ भने एक समय बाख्रा फार्म खोलेर चर्चामा आउनुभएका युवा नेता गगन थापाले यसपटक पनि महामन्त्री पदमै उम्मेदवारी दिने तयारी गर्नुभएको छ । तथ्यहरूले काङ्ग्रेसमा नेताहरूको व्यवस्थापन एउटा जटिल चुनौती बन्ने देखाएको छ । यसै कारण चौधौँ महाधिवेशनपश्चात कतिपय नेताहरू गायव हुन पुगे भने कुनै आश्चर्य नहुने ठानिएको छ ।