बेलायतमा नेपाल पत्रकार महासँघको अझै दुई शाखा ?

बेलायतमा नेपाल पत्रकार महासँघको अझै दुई शाखा ?


लण्डन । जुन महिनाको १३ तारिखमा लण्डनमा भएको नेपाल पत्रकार महासँघको शाखाको प्रत्यक्ष तीन वर्षीय कार्यकालको निर्वाचनमा सिर्जना भएको नयाँ कार्यसमितिपछि अर्को पक्ष वा पराजीत समूहले सोही नामको अर्थात् नेपाल पत्रकार महासँघको बेलायत शाखाको सोही अवधिको लागि अर्को कार्यसमिति खडा गरेका थिए । लगभग ३ हप्ता बित्न लागेकाे छ तर कुन कार्यसमिति सही वा गलत या सदर वा बदर हाे भन्नेमा अझै नेपाल पत्रकार महासँघका नेतृत्वकर्ताहरु विश्वस्त भइनसकेका बुझिन्छ ।

क्रमशः ध्रुवराज अर्याल र विपिन निरौलाको नेतृत्वमा रहेका दुबै २०२१देखि २०२४ सम्मका कार्यसमितिहरुलाई सामाजिक सञ्जालहरुबाट बेलायतलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरुबाट वधाइ दिने क्रममा व्यापकता आएको छ र जसमा कसको शुभेक्षुकहरु धेरै भनेर देखाउने किसिमका प्रचारप्रसार भएको पनि देखिएको छ । समाचारहरुसहित हल्लाहरु फैलाउनमा सामाजिक सञ्जालहरु निक्कै सशक्त रहेको वखत उही सञ्जालहरुमा दुबै कार्यसमितिहरुका बारेमा खबरहरु सतहिएको बेलामा नेपाल पत्रकार महासँघको ठोस निर्णय वा नेपाल पत्रकार महासँघको सहमतिस्वरुपको समाचार भने कतै पढिएको छैन । महासँघको एक मात्र प्रतिनिधि रहेका बरिष्ठ पत्रकार भगीरथ योगीबाट दुइटा संस्थामध्ये एकलाई सदर अनि अर्कोलाई बदर गर्ने वा मान्य वा अमान्य गर्ने पर्यायका कुनै प्रयास भएका छैनन् । उनले अझै पनि निर्वाचनको परिणामसहितको रिपोर्ट केन्द्रलाई नपठाएको बुझिएको छ । निक्कै नै सरल अनि सौम्य अनि सभ्य तथा निष्कलंकित मानिएका भगीरथ योगीको यो कदम बुझ्न सकिएको छैन ।

निर्वाचनअगावै केन्द्रले उठाएका मानिएका व्यक्तिहरुलाई साथ दिएका मानिएका योगीले आफ्नो प्रभाव शाखामा दिने प्रयत्न प्रशस्तै गरेको सुने तापनि आखिरमा उनकै उपस्थितिमा महासँघको शाखाको निर्वाचन सम्पन्न भएको थियो, जहाँ उनैले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण पनि गराएका थिए । पराजीत उमेदबारहरुकै उपस्थितिमा निश्चित मतको गणना भएको र पराजीत उमेदबारहरुले प्रतिष्पर्धीहरुलाई व्यक्तिगत रुपमा वधाइ दिएर हलबाट बाहिरिएका थिए र अर्को दिन निर्वाचनको परिणामलाई वहिष्कार गरी अर्को कार्यसमिति खडा गरेका थिए ।

भगीरथ याेगी

समाजमा गलत परिणतिको शूत्रपात भएको र आफै उपस्थित भई आफैले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका केन्द्रका एक मात्र प्रतिनिधि रहेका भगीरथ योगी किन चुपचाप छन् ? किन समाजलगायत संस्थामा विरोधाभास घोलिरहेका छन् ? किन र कोबाट अनि कुन राजनीतिबाट निर्देशित छन् भन्ने बारेमा जान्नका लागि घटना र विचारको तर्फबाट औपचारिक जानकारी लिन खोज्दा उपलब्ध हुन खोजेनन् । जहाँ निर्वाचित कार्यसमितिका अध्यक्ष अर्यालचाहिँ छिट्टै नै योगीले रिपोर्ट केन्द्रमा पठाउने र केन्द्रले आफ्नो कार्यसमितिलाई कदर गर्नेमा आफू विश्वस्त भएको बताउँदछन् भने अर्का सोघोषित विद्रोही कार्यसमितिका अध्यक्ष निरौलाले आफूलाई केन्द्रको निर्णय मान्य रहने बताउँदछन् । तर समाजमा हल्ला चलेको अनुसार नेपाल पत्रकार महासँघले बेलायतको शाखामा नयाँ पदहरुको सिर्जना गरी पराजीत उमेदबारहरुलाई ल्याउनका लागि दबाव दिइरहेको छ । प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने मुलुक बेलायतमा रहेको आफ्नो शाखामा नेपालको अमान्य खालको राजनीति गर्न खोजेको आरोप नेपाल पत्रकार महासँघलाई लागेको बखतमा महासँघको आगामी निर्णयले बेलायती नेपाली समाजमा कस्तो स्तर राख्दछ भन्ने यहाँ हेर्नु पर्ने भएको छ ।