फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता



संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी-डेड काउन्टीका मेयर डानिएला लिभाइन काभालाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिएको वक्तव्यमा उल्लेख भएअनुसार बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन नसकिने अवस्था छ ।

उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीबार निरीक्षण गर्ने भएका छन् ।

गत बिहीबार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ ।