क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।
बढ्दो तापक्रमका कारण तातो हावा चलिरहेको छ भने यसकै कारण ती नागरिकको मृत्यु भएको हो । सिन्ह्वाका अनुसार त्यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ ।
क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण त्यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको बताइएको छ ।
बताइएअनुसार मंगलबार क्यानाडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । क्यानडामा यो अहिलेसम्मकै उच्च तापक्रम हो । क्यानाडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको छ भने अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको बताइएको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।
तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन ।
क्यानाडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाइ छ ।
प्रतिक्रिया