(अनुभूति)
- राजन घिमिरे

कसले कति पाउने ? कसलाई कति दिने ? लेखाजोखाको कुरै होइन । कुरा त मन, भावना अनि साथ र सद्भावको हो । दिनेले दिइरहने र लिनेले लिइरहने मात्र ? यस्तो त सधैं चल्दैन । किनकि, ताली दुई हातले मात्र बज्दछ ।
तर, दिनेले एकोहोरो दिइरह्यो भने लिनेले लिइरहँदो रहेछ । लिइरहनेले ‘हामीले पनि केही गर्नुपर्छ’ भन्ने सोचअनुसार झिनो उदाहरण पनि प्रस्तुत गर्न नसक्दा दिने र लिनेबीच कालान्तरमा ठूलै अविश्वासको खाडल पैदा हुन सक्छ । ‘कति एकोहोरो दिइ मात्र रहने ?’- दिनेको मनमा यस्तो प्रश्न उब्जनु स्वाभाविकै हो ।
यहाँ पङ्क्तिकारले दिने र लिने प्रसङ्गलाई नेपाल र प्रबास दुवैतिर रहेका नेपालीहरूबीचको अवस्थालाई प्रस्तुत गर्न खोजेका छ ।
लिइरहनेमा नेपाल परेको छ भने बारम्बार दिइरहनेमा प्रबासमा रहेका नेपालीहरू परेका छन् । साँच्चै, प्रबास पुगेपछि ज्यादा महसूस हुनेरहेछ कि नेपाल र नेपालीहरूप्रतिको माया, साथ र सद्भाव कति धेरै हुँदोरहेछ भन्ने ! टाढा पुगेपछि आफन्तको माया धेरै जाग्छ भन्ने त कहावत नै छ ।
त्यसैले त मुलुक अप्ठेरोमा पर्दा, देशका विभिन्न विधा, क्षेत्र वा पेशामा आबद्धहरूलाई परेको चोट, ब्यथा वा दुःखमा प्रबासी नेपालीहरूले पटक-पटक साथ दिएका छन् । त्यो पीडा र समस्यालाई आफ्नै ठानेर मनकारी ब्यवहार गरेका छन् । आफ्नो जन्मभूमि र नेपालीजनको पीडामा मल्हम लगाउन प्रबासबाट क्षमता वा गक्षले भ्याएसम्म प्रबासी नेपालीहरूले साथ र सहयोग गरिरहेका छन्, यो क्रम जारी पनि छ ।
प्रबासमा पैसा रूखमा फल्दैन टपक्क टिपेर नेपाल पठाउन । सुनौलो सपना सँगालेर प्रबासिएका नेपालीहरूको कर्म अनि दौडधूपलाई यो पङ्क्तिकारले नजिकबाट देखेको र बुझेको छ । त्यसकारण पनि म सगौरव भन्न सक्छु कि प्रबासी नेपालीमा नेपालप्रतिको माया नेपालमा रहेका नेपालीभन्दा कम छैन, बरू बढी नै छ ।
नेपालमा भूइँचालो गयो, प्रबासीहरूले एकजुटता देखाइहाल्छन् र सहयोगको लागि हातेमालो शुरू गरिहाल्छन् । नेपालमा बाढी गयो, प्रबासी नेपालीहरू सहयोग गर्न कम्मर कसेर अगाडि सर्छन् । नेपालमा कुनै विशिष्ट ब्यक्ति एवं कलाकर्मीहरूलाई उपचार गर्न आर्थिक सहयोगको अभाव भएको कुरा कानमा पर्यो भने प्रबासमा रकम सङ्कलन शुरू हुन्छ । यसरी प्रबासमा रहने नेपालीहरूको ऐक्यबद्धता देख्दा लाग्छ- सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रियगानको अंश त प्रबासमा पो चरितार्थ भएको छ । नेपाल दुख्दा प्रबासमा जसरी नेपालीहरूले एकजुटता प्रदर्शन गर्छन्, त्यस्तो शैली विदेशीहरूमा देखिँदैन । प्रबासमा एउटा कुनामा रहेको नेपालीले अर्को कुनामा रहेका नेपालीलाई ब्यक्तिगत रूपमा चिनेका पनि हुँदैनन्, भेटघाटको कुरा त परै जाओस् । तर पनि एउटा नेपालीले नेपाल र नेपाली अप्ठ्यारोमा परेको समयमा सहयोगको लागि आग्रह गर्दा नेपालीको नाताले रकम जम्मा गर्न अग्रसरता देखाइहाल्छन् । सायद यही होला नेपालीको विशेषता । प्रबासी नेपालीहरूको यस्तो महान् कर्म र विशेषताको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।
यो घाम जस्तै छर्लंग छ कि प्रबासबाट ब्यक्ति तथा सामाजिक संघ-संस्थालाई मात्र नभई सरकारलाई पनि समय-समयमा साथ-सहयोग प्राप्त भइरहेका छन् । तर प्रबासी नेपालीहरूले यसरी मनदेखि गरेको साथ-सहयोग बापत के पाएका छन् त ? त्यसो त, उनीहरूले केही पाउनका लागि सहयोग र मन दिएका होइनन्, तैपनि लिनेले पनि कहिलेकाहीँ बुझिदिँदा के फरक पर्ला र ? भन्ने जिज्ञासा मात्र हो ।
वर्षौंपछि नेपाल फर्किएका यिनै प्रबासी नेपालीहरूले एअरपोर्टमा पाए त केवल अनेकन सास्ती, झन्झट र यस्तै-यस्तै मात्र । प्रबासमा रहेका नेपालीहरूले मुलुकका लागि करोडौँ उठाएर पठाएको हिसाब छैन, तर बिदेशबाट प्रबासीहरूले आफन्तलाई ल्याएको कोसेलीको एअरपोर्टमा अनावश्यक खानतलास गरिन्छ अनि ती कोसेली नेपाल प्रवेश गराउन बन्देज लगाइन्छ । प्रबासीहरूको सामान सम्बन्धित निकायबाट चोरी हुने अनि टुटफुट पारिने पनि आम यथार्थ बनिसकेको छ । यस्तो छ प्रबासी नेपालीलाई स्वदेशबाट हुने उपहार ।
विदेशबाट आएको भन्नासाथ देशअनुसारको ‘दृष्टि’ लगाइन्छ एअरपोर्टमा । कुनै आतंककारीलाई गरेजस्तो छानबीन र केरकार त छँदैछ । यस्ता विविध र झण्झटिलो नीति-नियमका बारे नेपाल आउँदा र बाहिर जाँदा ब्यहोर्नुपर्ने तनावपूर्ण ब्यवहारको बारेमा जानकार र भुक्तभोगी भए तापनि प्रबासमा पुग्नासाथ यस्ता नकारात्मक कुरा बिर्सिएर फेरि नेपाल र नेपालीका लागि केही पर्यो भने जुटिहाल्छन् प्रबासी नेपालीहरू । प्रबासी नेपाली न इगो पाल्छन् न त रिस र इर्ष्या प्रदर्शन गर्छन् । नेपाल र नेपालीप्रति न द्वेष छ न त नकारात्मक सोच नै । केवल उनीहरू पसिनाको फल देश र देशबासीलाई दिन्छन् र, दिनुमै रमाउँछन् । धन्य हो प्रबासी नेपालीजन !
प्रतिक्रिया