गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा भट्टको पनि उम्मेदवारी

गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा भट्टको पनि उम्मेदवारी


  • सनत आचार्य, बेल्जियम (युरोप प्रतिनिधि)

गैरआवासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि गोविन्द भट्ट (सीपी भट्ट) ले पनि उम्मेदवारी दिने भएका छन् ।

योसँगै आगामी दुई वर्षका लागि हुने निर्वाचनमा भट्ट संयुक्त प्यानलबाट चुनाव लड्ने छन् भने खड्गबहादुर केसी नेकपा एमाले (सत्तापक्ष) को तर्फबाट ।

बेल्जियमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी, माधव नेपाल समुह र जनता समाजवादी पार्टीनिकट विदेशस्थित वैचारिक संगठनका प्रतिनिधिहरूबीच निरन्तर रूपमा भएको छलफलपश्चात भट्टलाई अध्यक्षका लागि उम्मेदवार बन्ने बाटो खुलेको छ ।

चार मुख्य वैचारिक संगठनको तर्फबाट साझा उम्मेदवार बन्ने निर्णय भएसँगै भट्टले एक-दुई दिनभित्र आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने बुझिएको छ ।

त्यस्तै, अन्य पदका लागि भने हालसम्म कसैको दाबी देखिएको छैन । वैचारिक संगठनहरूबीच कुन पदका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे आन्तरिक छलफलमा जुटेको बुझिएको छ ।

एनआरएनएका पूर्वअध्यक्ष प्रेम गुरुङका अनुसार अन्य पदका लागि पनि सैद्धान्तिक रूपमा कुरा मिलिसकेको र पदीय विभाजन मात्र हुन बाँकी रहेको जानकारी गराउँदै आगामी सोमबारसम्म आफूहरू संयुक्त एलाइन्सको तर्फबाट सबै पदका लागि उम्मेदवार घोषणा गर्ने योजनामा रहेको बताएका छन् ।

गुरुङले पद बाँडफाँडमा समेत कुरा मिलिसकेको र आफ्नै टिममा कुन पदमा कसलाई उम्मेदवार बनाउने भन्ने यकिन गर्न मात्र बाँकी रहेको जानकारी दिए ।