युरोपेली देशहरुमा सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि

युरोपेली देशहरुमा सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि



युरोपेली देशहरूमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीबार जानकारी दिएको हो ।

डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सवै सतर्क हुनुपर्दछ,’ संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भनेका छन् । युरोपेली देशहरुमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि उनले आग्रह गरे ।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो । नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले जानकारी दिए ।

खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गर्दै उनले भेका छन्, ‘खोपले डेल्टा भेरियन्टको कोरोनाभाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ ।’

युरोपेली देशहरुमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्याङ्क पनि उनले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।