जात र धर्मको यथार्थ : जातीय विभेद अन्त्यको लागि केही प्रस्ताव

जात र धर्मको यथार्थ : जातीय विभेद अन्त्यको लागि केही प्रस्ताव


  • अमृत खरेल

पेशा र कामको आधारमा दिइएका उपाधि र पदलाई समाजले कालान्तरमा जातमा परिणत गरी पछिबाट जन्मका आधारमा नै निश्चित पेशाका पूर्वजका सन्तानलाई सधैंभरि उसको पूर्वजको कामको आधारमा नै हेय भावनाले हेरेर जातीय विभेद भएको देखिन्छ ।

राज्यले पनि जातको वर्गीकरण त्यही हिसाबले गर्नु नै खास समस्या हो । अझ कतिपय समुदायलाई नै जाति भन्ने भ्रम सिर्जना पनि गरिएको छ । उदाहरणका लागि नेवार समुदायमा विभिन्न जात व्यवस्था छ तर राज्यले नेवारलाई नै जाति बनाइ सोहीबमोजिम सकारात्मक विभेद गरिरहेको पाइन्छ । तराई मधेशमा बस्नेलाई जबर्जस्ती मधेशी भनेर जातिविशेष जस्तो बनाउने षडयन्त्र भइरहेको छ ।

जाति-व्यवस्थालाई कामका आधारमा हेर्नु नै उपयुक्त हुन्छ । वैदिक कालदेखिको मान्यता पनि त्यही हो । ‘जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते’, अर्थात् मान्छे जन्मँदा शूद्र भागबाट हुन्छ र शूद्र हुन्छ, तर पछि बढ्दै गइ कर्म या संस्कारबाट उसले उच्च पद पाउँदै ब्रम्हमा लीन हुने चेष्टा गर्नुपर्दछ ।

धर्म र वैदिक कालमा जातव्यवस्था :

विश्वामित्र क्षत्रीय कुलका सन्तान थिए तर आफ्नो अध्ययनले ब्रम्हर्षि भए । राजा हरिश्चन्द्रले आफ्नो छोरा रोहितको बली दिन वरुणसँगै गरेको प्रतिज्ञा पुत्रमोहका कारण पूरा गर्न नसकेपछि रोहितको सट्टा अजीर्गतको माइलो छोरा शूनःशेपलाई किनेर ल्याइ यज्ञमा बलि दिन ठिक पारेको बेला नरबलीको त्यो कुसंस्कार अन्त्य गर्न आफ्नो विवेक, तर्क र ज्ञानको आधारमा सबैलाई सन्तुष्ट तुल्याएर नेपालको कौशिक क्षेत्र हालको कोशी क्षेत्रका ऋषि विश्वरथले शूनःशेपलाई पूनर्जीवन दिई आफ्नो धर्मपुत्रका रूपमा ग्रहण समेत गरेर मानवबलीको क्रुर परम्परालाई नै अन्त्यसमेत गरेको हुनाले उनलाई विश्वामित्र भन्न थालियो । शूनःशेपको पनि देवरात नाम रहन गयो ।

यति मात्र होइन विश्वामित्रले कुनै विभेद नभएको समतामूलक समाज निर्माणको अभियान नै सुरु गरी चण्डालका रूपमा रहेको त्रिशंकुको उत्थान गरेका थिए । प्राचीन कालमा वरुण र स्त्रीराज्यहरूमा व्याप्त नरबलीको प्रथाबाट आफ्नै छोरी इलाको समेत बली भएपछि विरक्तिएका वैवस्वत मनुले मानवहिंसाको त्यो प्रथालाई छाडेर सत्य, मैत्री, दया र करुणाको मानवधर्म स्थापनार्थ आफ्नो दश पुत्रहरूलाई विश्वका विभिन्न राज्यमा दशै दिशामा पठाएका थिए । उनका छोराहरूले हिमालयदेखि हालको अफ्रिकासम्म अनेक दुःख-कष्ट सहेर हिँडेरै पुगी सबैलाई विश्वासमा लिएर मानवधर्म फैलाएका हुन् । वैवश्वत मनुले नरबलीको प्रथा रोकी मानवधर्म स्थापित गरे । तिनै मनुलाई गाली गर्दै अहिले खलनायकका रूपमा चित्रण गर्ने दुष्प्रयास हुने गरेको छ ।

यस्तो पवित्र गौरवमय इतिहास बोकेको सनातन धर्मले नरबली र दासप्रथा जस्तो कुप्रथालाई आजभन्दा ३७०० वर्षअगाडि नै तिलाञ्जली दिई आत्म र ब्रम्ह चिन्तनको पद्दति अघि बढाएको हुनाले धर्ममा विभेद एवम् जातीय छुवाछुत भन्ने विकारलाई कुनै स्थान नै छैन ।

वाल्मिकी पनि डाँकू रत्नाकरका रूपमा चण्डाल कर्म गर्थे, पछि कर्म फेरेर उनी ऋषि भए । चण्डाल त्रिशंकुलाई विश्वामित्रले ज्ञान दिई उत्थान गरे, छुट्टै स्वर्ग निर्माण गरिदिए उसका लागि । चर्मको काम गर्नेकी छोरी थिइन् सवरी, तर रामभक्त थिइन् । सवरीले रामका लागि चाख्दै छुट्याउँदै गरेका जुठो गुलिया बयर रामले ग्रहण गरे र उनलाई स्नेहपूर्वक मातृसम्मान नै दिए । भीष्मका पिता सन्तनुले बिहे गरेकी माझीकी छोरी सत्यवती महाभारतकालीन सम्पूर्ण आर्यपुत्रहरूकी आमा हुन् । अतः धर्मले जात छुट्यायो भन्ने वाहियात कुरा हो ।

मानिसको शरीरमा घाँटीभन्दा माथिको ब्रम्ह चिन्तन गर्ने भाग ब्रम्ह क्षेत्र हो । हातहरू क्षेत्रीय क्षेत्र हो जसले जीवनरक्षा कर्म गर्छन् । आमाशय र उदरको भाग वैश्य क्षेत्र हो जसले पालन गर्छन् । प्रजननअङ्ग र खुट्टाहरू शूद्र क्षेत्रमा पर्छन् । त्यसैले शूद्रले छोएको नखानू भनी शास्त्रोक्त मत वैज्ञानिक छ । तपाईंले गुप्ताङ्ग वा खुट्टाले छोएर त के कुरा हात पनि नधोई छोयो भने के हुन्छ खाँदाखेरि भन्ने कुरा कोरोना महामारीको पाठ सिकिसकेको हुनाले अब धेरै भन्नु जरुरी छैन ।

आधुनिक समयमा अध्ययन, अनुसन्धान, शिक्षण लगायतका काम गर्ने सबै ब्राह्मण हुन् । सेना, प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा गार्डहरू क्षेत्रीय हुन् । एउटै व्यक्तिले फरक परिस्थितिमा फरक काम गर्न सक्छ । पैसाका लागि वशीभूत भएर काम गर्ने हुनालै सबै वैश्य पनि हुन् । आ-आफ्नो सरसफाइको काम सबैले गर्छौं, त्यतिबेला सबै शूद्र हौँ । जो अरुको उपचार एवं सरसफाइकै पेशा गर्नुहुन्छ उहाँहरूले शूद्र काम वैश्य तरिकाले गरेको हो । अहिले त विभिन्न कर्मको बहुसम्मिश्रणयुक्त पेसा भइसकेको छ । अतः अब जाति व्यवस्थालाई नयाँ र समय सुहाउँदो गरी व्याख्या, विश्लेषण गर्नु जरुरी छ ।

थर सम्बन्धमा शैक्षिक उपाधि प्रयोगको प्रस्ताव :

जहाँसम्म थरको कुरा हो, त्यसलाई पनि अध्ययन र ज्ञानको आधारमा प्राप्त पदवी र उपाधिलाई प्रयोग गर्दै गए समानता कायम हुँदै जानेछ । जस्तो कि स्नातकोत्तर उत्तीर्ण सबैलाई विश्वविद्यालयले आचार्य उपाधि दिन्छ । स्नातक उत्तीर्णलाई शास्त्री, विद्यावारिधि अनुसन्धान पूरा गरेकालाई विद्यावारिधि, प्रवीणता तह उत्तीर्णलाई प्रवीण इत्यादि । यिनै उपाधिलाई नै नामका पछाडि प्रयोग गर्दै गए थरका हिसाबले हुने विभिन्नतालाई समानता कायम गर्न सकिन्छ । यस्तै, गोत्रका आधारमा मात्र गोत्र प्रचलन गरे पनि समानता कायम गर्न सकिन्छ ।

शब्दमा मात्र समस्या हो भने त कुन थरी भनेर छुट्याउन शिक्षाका आधारमा निम्नानुसार थर प्रयोग गरे हुन्छ- १. साक्षर, २. प्रवेशिका, ३. प्रवीण, ४. शास्त्री, ५. आचार्य, ६. विद्यावारिधि, ७. उत्तर विद्यावारिधि इत्यादि । तर समस्या थरको मात्र होइन, दृष्टिदोषको हो । जात भनेको कुनै पनि मानिसको सामाजिक आर्थिक मनोवैज्ञानिक स्थिति, पेशा, पूर्वजको काम व्यवहार, वंशज, खानपिन, रहनसहन, बोलीचाली, संस्कृति सबै विशेषताहरूलाई समुच्चमा एकै प्याकेजमा इनकोड (सांकेतिक रूपान्तरण) गरी संहिताबद्ध र सुत्रबद्ध गरिएको मानवनिर्मित संकेत हो । यो Code वा जात बताउने बित्तिकै ती अवयवबारे अरूको बारेमा दृष्टिकोण तय गर्न सुरू गर्ने गरी हामीले युगौँदेखि मस्तिष्क अभ्यस्त गराउँदै आएका छौँ । फलानो थर भन्नासाथ हामीसम्मुख रहेको व्यक्तिको भूत, भविष्य र वर्तमानबारे एउटा चित्र, एउटा पूर्ववत् धारणा pre conceived notion बमोजिम अनुमान (Speculation) गर्न सुरु गर्दछौँ । हो नियन्त्रण त्यस (Speculative) अनुमानित मनोवैज्ञानिक प्रक्रियामा हुनु जरुरी छ । तब हामी तटस्थ दृष्टिले कसैलाई हेर्न र बुझ्न सक्दछौँ । पङ्क्तिकारले माथि प्रस्ताव गरेअनुसार कसैले म फलानो आचार्य भन्यो भने पनि हाम्रो मस्तिष्कले भन्न त आचार्य भन्यो, नाक यति लामो रहेछ, आँखा चिम्सा वा फराकिलो यस्तो रहेछ, लवज यस्तो रहेछ भनेर अनुमान गर्न थाल्छौँ, यो फलानो जातको थियो होला भनेर । त्यसैले मस्तिष्कको सफाइका लागि एकै उपाय भनेको आत्मचिन्तन र ब्रम्हबोध हो । जीवमा कुनै भेद नराखी यो आत्मस्वरूप रहेछ भनेर देख्न ज्ञानचक्षु नखुलेसम्म चर्मचक्षुलाई जे गरे नि हुँदैन । जात होइन आत्मबोध गरौँ ।

आरक्षणको विकृति समाधानको उपाय :

आधुनिक राज्य व्यवस्थामा चाहिँ मूल विषय भनेको आर्थिक रूपले विपन्न पारिएका र वञ्चित गरेकालाई वास्तविक अर्थमा सकारात्मक विभेद गर्ने अवस्था सिर्जना गर्न राज्यकेन्द्रीत नभई समस्या समाधान हुँदैन । जातीय रूपमा वर्गीकृत गरी राज्यले कुनै पनि भेदभाव गर्न मिल्दैन । राज्य र शासकीय संरचनामा समान सहभागिता सुनिश्चितता गरी रोजगार, आवास वा जे-जे दिनुपर्ने सुविधा हो आर्थिक रूपमा विपन्न वर्गका लागि उपलब्ध गराउन पर्छ । राज्यले अहिले पनि मानिस मात्रलाई ‘दलित’ भन्ने अपमानजक विशेषण प्रयोग गरी संविधानमा उल्लेख गरिनुका साथै राज्यले दलित भनेका व्यक्तिहरूलाई विभिन्न सार्वजनिक सेवामा आरक्षणको चारो हालेर मात्र समग्र उत्पीडित र आर्थिक रूपमा विपन्न रहेका वहिष्करणमा परेका वर्गको उत्थान हुन वा मूल प्रवाहीकरण हुन सम्भव छैन । किनकि, यस प्रकारको आरक्षणको व्यवस्थाको लक्षित जातिकै उपल्ला वर्ग र राज्यमा पहुँच भएकाले मात्र दुरूपयोग गरी उक्त जात भित्रका विपन्नलाई वञ्चितिकरण गर्ने, परनिर्भरता बढाउने एवं उनीहरूको पूर्ण व्यक्तित्व विकासको अवसरबाट वञ्चित गरिरहेको छ ।

आर्थिक अवसरमा सबैलाई समान पहुँच कायम गरेपछि बल्ल सबै विपन्न नागरिकको पनि स्वास्थ्य शिक्षा एवं राज्यको सेवा सुविधा एवं निजी क्षेत्रको सेवा सुविधा उपभोग गर्ने क्रयशक्ति बढ्दछ । एनजिओ, आइएनजिओ, मिसनरी र सरकारी अनुदानले जीवनस्तरमा वास्तविक परिवर्तन कदापि आउन सक्दैन । अहिले पनि खाडी मुलुकमा काम गर्न गएका नागरिक हेर्ने हो भने कथित उपल्लो वा निचो भनिएका जुनसुकै जातका पनि विपन्न मानिसचाहिँ पच्पन्न डिग्री तापक्रममा काम गर्न बाध्य छन् । रोजगारीका लागि विदेशीका विपन्न सबै कथित दलित नभइ सबै जातिका गरीबको वास्तविक समस्या र वेदना एउटै हो ।

कतिपय समाजशास्त्री मानवशास्त्रीहरूले जातव्यवस्था सनातन हिन्दू धर्मअन्तर्गतको व्यवस्था भनी लेख्ने परिभाषित र प्रचार गर्ने गरेको पाइन्छ । यो कुरालाई मानिदिने हो भने अहिन्दूहरूको कुनै पनि जात नै हुँदैन वा जातरहित हुन्छन् भन्ने पुष्टि हुन आउँछ । अब प्रश्न उठ्छ कि कुनै पनि व्यक्तिले सनातन हिन्दूधर्म छाडेर अर्को कुनै विदेशी मत वा सम्प्रदायमा सामेल भएपछि उसको जात कसरी बाँकी रहन्छ ?

जो-जो व्यक्तिहरू सनातन हिन्दू बौद्ध किरात धर्म छाडेर अन्य विदेशी मत इशाइमा लागेका छन् तिनले आफ्नो जन्मजात रूपमा पाएको जातित्वलाई त्याग गरी जातबाट विमुक्त भइसकेको हुन्छन् । जाति नै नरहेपछि जनजाति भन्ने पनि हुने प्रश्नै रहँदैन । आफ्नो सनातन जात व्यवस्थामा कायम रहनेको मात्र गोत्र, कुल धर्म एवं कुलदेवता रहेको हुन्छ । यसकारण पश्चिमा इशाइ मतमा परिणत भइसकेपछि जातबाट विमुक्त भएकाहरूले फेरि जातिको नाममा सुविधा प्राप्त गर्नु सामाजिक न्याय भएको माग राखेर आरक्षणको कोटामा समावेशी प्रतिनिधित्व खोज्ने वा दिने कार्यले आफ्नो सनातन धर्म र जातव्यवस्थामा कायम रहेका जातजातिहरूका नागरिकलाई प्रत्यक्ष रूपमा हक हनन हुन जान्छ ।

ब्राह्मण, क्षत्री, मगर, गुरुङ, राई किरात, नेवार वा जुनै समुदायको व्यक्तिले पनि विदेशी मूलको इशाइ मत वरण गरेपछि त्यो व्यक्तिको पूर्ववत् जात स्वतः हराउने भएको हुनाले पूर्ववत् जातजातिको लागि राज्यबाट दिइएको सुविधा जात नै गुमाइसकेको व्यक्तिलाई दिँदा रैथाने जात व्यवस्थाभित्रका मानिस अवसरबाट प्रत्यक्ष रूपमा वञ्चित हुन पुग्दछन् ।

अतः जातव्यवस्था सनातन हिन्दू व्यवस्था हो भने जातीय रूपमा राज्यबाट प्राप्त आरक्षण लगायत सामाजिक न्यायको व्यवस्थामा पनि सनातन हिन्दू बौद्ध किरात व्यवस्था अन्तर्गतका जातजाति र जनजातिको मात्र सर्वाधिकार रहन्छ । त्यसैले जात व्यवस्था र विभेदको अवस्था मध्ययुगीन समाजमा विश्वका हरेक क्षेत्रमा कुप्रथा सुरु भएको प्रष्ट छ । हिन्दू व्यवस्थाअन्तर्गत जात व्यवस्थाको सिर्जना भएको भ्रममा रहनुको कुनै औचित्य छैन ।

मध्ययुगीन समयमा पेशाका आधारमा जात छुट्याइएको सामाजिक परिवेश देखिन्छ । परम्परागत पारिवारिक पेशा छाडेर अन्य सरकारी वा गैरसरकारी सेवामा आबद्ध हुन प्रोत्साहन गर्न अहिले जातका आधारमा आरक्षण व्यवस्था गरिएको छ । विभिन्न जातिका परम्परागत पेसामध्ये ब्राह्मण क्षेत्री जातका मान्छेको चाहिँ परम्परागत पेशा नै सरकारी जागिर भन्ने राज्यलाई भ्रम रहेछ । खासमा धेरै ब्राम्हण क्षेत्रीले कृषि नै उत्तम उद्यमलाई मध्यम र निर्घिणी जागिर मान्ने गरेको सामाजिक तथ्य हो । यो उनीहरूले आफ्नो स्वाभिमानी र धर्मानुकूल जीवनयापन गर्ने क्रममा पालना गर्दै आएको कुरा हो ।

अहिलेको सामाजिक परिवेश फेरिएको छ । सरकारी सेवामा अन्य जातिलाई आरक्षण दिई उनीहरूको संख्या बढाउन खोज्नु ठिकै छ । तर ब्राम्हण क्षत्री जातका मानिसले अन्य जातिको परम्परागत वर्चस्व रहेको पेशा अँगाल्न चाहे भने ती पेशा अपनाउन प्रेरित गर्न ब्राह्मण क्षेत्री जातकालाई आरक्षण दियो भने बल्ल पेशागत अन्तर्घुलन हुन्छ ।

उदाहरणका लागि टेलरिङ वा ब्यान्ड बाजा, जुत्ता फ्याक्ट्री, माटोका भाँडाकुँडा, मूर्तिहरू बनाउने, सरसफाइ इत्यादि पेशामा ब्राह्मण क्षेत्रीको संख्या बढाउन चाहिँ विशेष आरक्षणको नीति खोइ ? ती पेशामा लाग्दा ब्राह्मण क्षेत्रीका परिवार सदस्यलाई विशेष सहुलियत र करमा छुट दिँदै गए बल्ल आरक्षणमा समानता हुन्छ । अन्य जातिका मान्छेले पौरोहित्याइँ गर्न चाहन्छन् भने विशेष आरक्षण दिए हुन्छ । यसरी सांस्कृतिक अन्तर्घुलन गर्दै जाँदा पेशा र जातको तन्तु क्रमशः कमजोर हुँदै जानेछ । विभेद अन्त्य हुनेछ । जातीय र क्षेत्रीय भेद होइन, समुच्च राष्ट्रको गौरवशाली प्रागऐतिहासिक समयदेखिको पहिचानलाई पुनर्जागरण गर्नेतिर अघि बढौँ ।

(अधिवक्ता खरेल कानून अध्यापनमा संलग्न छन् ।)