सक्रिय सङ्क्रमित पाँच लाखभन्दा कम
भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको त्यहाँको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै एनआईले जनाएको छ ।
भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिँदै गएको छ । सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बताइएअनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।
यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७।०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।
प्रतिक्रिया