फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु



फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सचिव लोरेन्जोले विमानमा सवार ४० जना घाइते भएका र उनीहरुको उद्धार गरिएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ ।

सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको विमान दुर्घटनामा परेको बताए । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए ।

उद्धार गरिएका ४० जनाको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणका बारेमा चाँडै अनुसन्धान शुरु हुने बताए ।