एमाले एकताको सम्भावना बढ्यो, संसद् पुनर्स्थापना भए पनि केपीकै सरकार !

एमाले एकताको सम्भावना बढ्यो, संसद् पुनर्स्थापना भए पनि केपीकै सरकार !



केही दिन अघिसम्म माधवकुमार नेपालसँग कुनै प्रकारको संवाद र सहमति गर्न अनिच्छुक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई पार्टीको द्वितीय अध्यक्ष बनाउन राजी हुनुभएको छ । एमालेको नयाँ पुस्ताका नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, योगेश भट्टराई र भीम रावल लगायतको पहलमा केपी ओलीलाई उक्त कुरामा सहमत गराउने कार्य भएको हो ।

गत आइतबार राति प्रधानमन्त्री ओली र रावलबीचको लामो संवादपछि माधव नेपाललाई द्वितीय अध्यक्ष बनाउन केपी मञ्जुर हुनुभएको थियो । केपीको यस्तो सहमतिपछि पार्टी एकताका आधार तयार पार्न केही साताअघि गठन भएको कार्यदल पुनर्जीवित गरिएको छ र, मंगलबार (२२ असार) बसेको कार्यदलको बैठकले एकताका आधारहरूलाई अन्तिम रूप दिन छलफल अघि बढाएको छ । पछिल्लो समयमा प्रधानमन्त्री ओलीको लचकता हेर्दा एमाले एकताका निम्ति उहाँ निकै गम्भीर रहनुभएको देखाउँछ । केपीमा देखिएको लचकताको तुलनामा माधव नेपाल बीस प्रतिशत मात्र लचकदार बन्नुभयो भने एमालेको एकता पुनर्बहाली हुन सक्ने सम्भावना छ ।

केपी ओली लचकदार बन्दै जाँदा माधव नेपाल पहिलेभन्दा कठोर बन्नुभएको छ । अभिव्यक्ति र व्यवहारका आधारमा माधव नेपालले केपीसँग एकता नगर्नुका निम्ति कुनै ‘चर्च’मा नै कसम खानुभएको हो कि भन्नेसम्मका टिप्पणी हुने अवस्था पैदा गरिदिएको छ । एमाले र केपी ओलीभन्दा माओवादी र काङ्ग्रेस तथा तिनका नेताहरू प्रिय ठान्ने माधव नेपालले केपीसँग सहकार्य र एकताका निम्ति तयार हुन नखोज्दा उहाँकै समर्थकहरू समेत सशङ्कित र चिन्तित हुन पुगेका छन् । सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम रावललगायतका नेताहरूले माधव नेपाललाई एकताका निम्ति दबाब दिँदै अलग पार्टी गठन गर्न सहयोग नरहने स्पष्ट गरिदिएका छन् । त्यसैले कार्यदलले तयार गर्ने प्रतिवेदनमा माधव नेपालको असहमति भए पनि त्यसपछि नयाँपुस्ताका नेताहरू पार्टीमा सक्रिय हुनसक्ने प्रबल सम्भावना छ ।

अभिव्यक्ति र व्यवहारका आधारमा माधव नेपालले केपीसँग एकता नगर्नुका निम्ति कुनै ‘चर्च’मा नै कसम खानुभएको हो कि भन्नेसम्मका टिप्पणी हुने अवस्था पैदा गरिदिएको छ ।

उनीहरूले माधव नेपाललाई एमालेमा फर्काउन हदैसम्म प्रयास गर्ने र नेता नेपाल फर्कन राजी नभए उहाँलाई छोडेर भए पनि एमालेलाई एकतावद्ध तुल्याउन युवापुस्ताका नेताहरू मानसिक रूपमा तयार भएका छन् । त्यसैले माधव नेपाल सामेल नहुँदा पनि हाल उहाँको पक्षमा देखिएका तेइस मध्ये अधिकांश सांसदहरू एमालेमा फर्कने प्रबल सम्भावना छ । पार्टी निर्णयविपरीत शेरबहादुर देउवाका पक्षमा दस्तखत गर्ने सत्ताइस सांसदमध्ये आठ जना समानुपातिक सांसदलाई बर्खास्त गरी निजहरूको स्थानमा केपीले नयाँ मानिसलाई मनोनयन (छनोट) गर्ने निश्चितप्रायः छ । बाँकी सांसदमध्ये चार जनाले अदालतमा दिइएको निवेदनमा दस्तखत गरेका छैनन् । सुरेन्द्र पाण्डे र भीम रावललगायतका नेताहरू समेत पार्टीको स्वभाविक जीवनमा फर्किएपछि माधव नेपालको साथमा जम्मा पाँच जना सांसद बाँकी रहने देखिन्छ । जानकारीअनुसार मेटमणि चौधरी र यज्ञराज सुनुवारसहित जम्मा पाँच सांसद माधवका पक्षमा उभिने अनुमान गरिएको छ ।

माधव नेपालका पक्षमा उभिएका आठ समानुपातिक सांसदहरूमा मुकुन्द न्यौपाने, पुष्पा कर्ण, वीनाकुमारी बुढाथोकी, सरला यादव, रामकुमारी झाँक्री र कल्याणी खड्कालगायत छन् । उनीहरूमध्ये पार्टी अनुशासनमा रहन नचाहनेहरू सबैलाई ‘संसद् पुनस्र्थापनापश्चात’ पदमुक्त गरिने बुझिएको छ । तर माधव नेपालसमेत एमालेमा फर्किएको स्थितिमा भने सबैको पद सूरक्षित रहने निश्चित मानिन्छ । वामदेव गौतम पार्टीको मूलधारमा फर्किएको, झलनाथ खनालसमेत मूलधारमै फर्कने मानसिकतामा रहेकोले अन्ततः माधव नेपाल पनि फर्किने विश्वास गरिएको छ । उहाँ नफर्किए पनि अब एमालेलाई खासै असर गर्ने देखिँदैन । संसद् विघटनसम्बन्धी मुद्दाको किनारा लागेपछि माधव नेपालले ‘निर्णय लिने’ बताइएको छ । संसद् पुनर्स्थापना भएमा आफ्नो ‘बार्गेनिङ पावर’ बढ्ने र त्यसपछि केपीसँग बढीभन्दा बढी लिएर एमालेमा फर्कने सोच माधव नेपालले बनाउनुभएको महसूस उहाँका निकटवर्तीहरूले गरेका छन् ।

स्मरणीय छ, न्यायालयको चाला हेरेर प्रधानमन्त्री ओली अदालतको निर्णय आफ्नो इच्छाविपरीत नआउनेमा ढुक्क हुनुहुन्छ र, उहाँ यतिबेला पुनर्स्थापित संसद्मा आफ्नो बहुमत जुटाउने गृहकार्यमा हुनुहुन्छ । माधवले साथ नदिए पनि एमालेका कम्तिमा ११५ र जसपाका २१ सांसदको साथमा आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन सकिने विश्वासमा प्रधानमन्त्री रहनुभएको छ । तर द्वितीय अध्यक्षको हैसियतमा काम गर्न पाउने भएपछि यो अवसरको सदुपयोग गर्नुपर्छ भन्नेमा माधव नेपालका हितैषीहरू भएकाले अन्ततः माधव एमालेमै फर्किने सम्भावना प्रबल छ । एमाले एक भएको र जसपासँगको गठबन्धन यथावत रहने स्थितिमा संसद् पुनर्स्थापना खोज्नेहरूको मानसिकता र भविष्य कस्तो होला, जिज्ञाशाको विषय बनेको छ ।