चीनबाट खोप ल्याउन आजदेखि तीन उडान हुँदै

चीनबाट खोप ल्याउन आजदेखि तीन उडान हुँदै



चीनबाट कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आज बिहीबारदेखि आगामी साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सरकार-सरकार (जिटुजी)मार्फत चीनबाट ल्याउन लागिएको भेरोसेल खोप ल्याउनका लागि जहाज बिहीबार त्यसतर्फ जाने र शुक्रबार पहिलो खेप खोप नेपाल आइपुग्ने छ ।

यस्तै, असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

उनले ठूलो परिमाणमा खोप आउने तर कति आउँछ भन्ने एकिन नभएको प्रतिक्रिया दिए । पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने प्रवक्ता पौडेलको भनाइ छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

file photo