नेपाली खेलाडीहरुलाई जापानमा भब्य स्वागत

नेपाली खेलाडीहरुलाई जापानमा भब्य स्वागत


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

टोकियोमा यही जुलाई २३ बाट शुरु हुने गृष्मकालिन टोकियो ओलम्पिकमा सहभागिता हुन बिहीबार जापान आइपुगेका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।

बिहीबार तोकुसिमा प्रान्त पुगेका खेलाडी गौरिका सिंह, अलेजेन्डर शाह (एलेक्स) र पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीलाई प्रान्तका पदाधिकारीहरुले भब्य स्वागत गरेका हुन् ।

नेपाली ढाकाटोपी लगाएका जापानी पुरुषहरुले नेपाली भाषामा ‘मेहनत गर्नुस्’ लेखिएको प्लेकार्ड एवं नेपाली सारी तथा नेपाली नारीका भेषभूषासहित खेलाडीलाई स्वागत गरेका थिए ।

एक हप्ताको अभ्यासपछि सबै खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागिता जनाउन टोकियो पुग्ने छन् ।

यसै क्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रमुख थोमस बाक बिहीबार जापान आइपुगेका छन् ।

थोमस, कोभिडका कारण एक वर्ष ढिला गरी यही जुलाई २३ तारिखबाट सुरु हुँदै गरेको टोकियो ओलम्पिक २०२० का लागि बिहीबार टोकियो आइपुगेका हुन् । यद्यपि कोभिड संक्रमण नियन्त्रणमा नआउँदा जापान सरकारले टोकियो फेरि यही १२ जुलाईदेखि अगस्ट २२ तारिखसम्मलाई आपतकाल् लागु गर्दैछ, जसले टोकियो ओलम्पिकका खेलहरु दर्शकबिहीन हुने कुरा निश्चित गरिसकेको छ । त्यसो त जापानले अत्यन्तै महत्वका साथ हेरेको टोकियो ओलम्पिक फेरि पनि रद्द गर्नुपर्ने माग राख्दै टोकियोमा हरेक दिनजसो शान्तिपूर्ण विरोध प्रदर्शनहरु भइरहेका छन् ।

केही आलोचना र ठूलो व्यवसायिक क्षति र अत्यन्तै कठिन भाइरस संक्रमण नियन्त्रणको कडा दायराभित्र टोकियो ओलम्पिक २०२० हुने भएको छ ।

जापानी आयोजक समूहले दिएको जानकारीअनुसार हिजो टोकियोको हानेदा एयरपोर्ट आइपुगेका थोमस तीन दिन होटल क्वारेन्टाइनमा रहने छन् । जापानमा रहेको बेला, थोमस एटोमिक बमले ध्वस्त पारेको सहर हिरोसिमा पनि जाने बताइएको छ ।