बङ्लादेशमा एक कारखानामा आगलागी, ५२ जना को मृत्यु

बङ्लादेशमा एक कारखानामा आगलागी, ५२ जना को मृत्यु



बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको एएफपीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

त्यहाँको प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।

बङ्लादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ ।

घटनाका बारेमा सूचना प्राप्त हुने वित्तिकै प्रहरी गएको र सुरुमा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको थियो । पछि उद्धार गर्दै जाँदा ठूलो संख्यामा मृत्यु भएको पाइएको प्रहरीको भनाइ छ ।

कतिपय व्यक्ति भने आगलागी भएपछि भवनबाट बाहिर हाम फालेको र हाम फालेका मध्ये पनि केहीको मृत्यु भएको र केही घाइते भएको पनि प्रहरीले जनाएको छ ।