अमेरिकाले पन्ध्र लाख नेपालीलाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउने

अमेरिकाले पन्ध्र लाख नेपालीलाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउने



कोभिड महामारीविरुद्ध सघाउन अमेरिकाले नेपाललाई ठूलो मात्रामा खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गर्नुभएको छ ।

गुप्त सम्झौताका आधारमा खरिद गरिएको खोपको पहिलो खेप चीनबाट नेपाल आइपुगेकै दिन ट्वीट गर्दै राजदूत बेरीले १५ लाख भन्दा बढी नेपालीलाई पुग्ने गरी केही दिनमै अमेरिकाले नेपाललाई निःशुल्क खोप प्रदान गर्न लागेको जानकारी दिनुभएको हो ।

नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्नो लागि यो अत्यन्त खुशीको क्षण भएको उल्लेख गर्दै राजदूत बेरीले नेपालीको जीवनस्तर सुधारमा अमेरिकाले निरन्तर काम गरिरहने बताउनुभएको छ ।

राजदूत बेरीको ट्वीटमा भनिएको छ- ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभीड-१९ खोप निःशुल्क उपलब्ध गराउँदैछ । नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो । अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ ।’