मर्टिनाबाट केही सिक्ने कि ?-सरिता अर्याल

मर्टिनाबाट केही सिक्ने कि ?-सरिता अर्याल


मर्टिना । मैले भेट्दा उनी ६८ वर्षकी थिइन् । सधैं पार्लरमा आउँदा उनी मैसँग काम गराउन मन पराउँथिन् । उनी मसित गफ गर्ने चाहनाले होला म व्यस्त हुँदा दुई घन्टासम्म पर्खिएर बसेका धेरै रेकर्ड छन् मसित । हाम्रो गफ एउटा विषयमा केन्द्रित हुँदैनथ्यो । हामी बाराक ओबामाको भविष्य औलाउँथ्यौँ, दक्षिण एसियाका राजनेता किन मारिन्छन् मात्र भनेर छानबिन सुरु गथ्र्यौं । समाजमा आतङ्ककारी कुदृष्टिले कसरी गाँज्दै छ र भोलिको कोलाहलमय समाज कस्तो होला ? भन्नेजस्ता उनका गफ सुन्न मलाई मन पथ्र्यो भने उनलाई पनि मेरो गफ मन पर्छ होला जस्तो मलाई लाग्थ्यो । त्यतिबेला म न्युयोर्कमा एक ब्युटिपार्लरमा काम गर्थें । सम्पन्न परिवारकी सदस्य भएर पनि त्यहाँ अर्काको पार्लरमा काम गर्न कसरी पुगेँ भन्ने कुराको आफ्नै कथा छ, जो पछि कुनै दिन लेखौँला ।
एक दिन मार्टिनाले ५० वर्षजतिको एउटा कालेलाई लिएर आइन् र मलाइ चिनाउँदै भनिन्, ‘ऊ मेरो प्रेमी ।’ ‘ओहो यो उमेरमा प्रेमी !-‘ मेरो मुखबाट यो शब्द निस्किहाल्यो । उसको प्रेमीले मार्टिनाको नक्कली कपाल निकाल्दै मलाई भन्यो, ‘सरिता प्रेमले उमेर र रूप हेर्दैन, सच्चा प्रेमले सधै र्समर्पण र भावना हेर्छ । मलाई यो चिन्डो टाउकोले केही फरक पार्दैन ।’ मार्टिना सधै नक्कली कपाल (बिग) लगाएर आउँथिन् । यो उनको सोख होला भनेर मैले कहिल्यै प्रश्न गरेकी पनि थिइनँ । त्यो दिन मेरो आँखामा केही प्रश्नहरू देखेर होला मार्टिनाले मेरो मनको जिज्ञासालाई शान्त बनाउँदै उनले मसित चिन्डो टाउकोको रहस्य खोलिन् । उनको जवाफले मलाई छाँगाबाट खसाइदियो । उनलाई पाठेघरको क्यान्सर रहेछ । ६ वर्षदेखि किमोथेरापीमा रहिछन् । महिनैपिच्छे किमो लिनुपर्ने कपाल त झरेर बिग लगाएको पो रहेछ ।
एकातिर क्यान्सरपीडित, अर्कोतिर किनारमा पुगेको उमेर अनि आफू गोरो र आफूभन्दा १२ वर्ष कान्छो काले प्रेमी ? संसारको राजधानी न्युयोर्ककी बासिन्दा मार्टिनाको कथा-व्यथा थियो यो । उनले र उनको प्रेमीले मलाई जति जानकारी दिए मैले चुपचाप सबै सुनेँ । मेरो मनमा केही प्रश्न आए पनि मैले उनीहरूलाई नराम्रो लाग्ला भनेर ममा सोध्ने आँट पनि आएन ।
एक दिन मार्टिनाको निमन्त्रणा मेल आयो मेरो कम्प्युटरमा, उनको बिहे रे त्यै कालेसित । बिहे गर्ने समयमा उनी ७२ वर्ष र काले युसुव ५९ वर्ष । मैले दुवैजनालाई विवाहका लागि तयार हुन पार्लर आउन आग्रह गरेँ । दुवै आए विवाहको एक दिन पहिले । विवाहको एक दिन पहिले बेहुला बेहुलीले ६ घन्टा पार्लरमा बिताए । भोलिपल्ट सेन्टरपार्कमा भेट्ने वाचा लिँदै उनीहरू मसित छुट्टिएका थिए ।
हाम्रो देशमा भए ७२ वर्ष यसै ओछ्यानमा परेकी आमै, त्यसमाथि क्यान्सरग्रस्त । काल कुर्नेदेखि केही काम थिएन, तर त्यहाँ नयाँ जीवन सुरु हुँदै थियो । विवाहपछिका धेरै योजना थिए त्यो भावी दम्पतीसित । ममा उनीहरूको विवाह हेर्ने चाहना भएर मैले कामबाट बिदा लिएर भोलिपल्ट पुगेँ सेन्टरपार्क । ओहो दुलहीसित फूल बोकेर आउने पाँचजना केटी सबै मार्टिनाका आफ्नै नातिनीहरू । दुई छोरा, दुई बुहारी, एउटी छोरी र सातजना नाति-नातिनीहरूकी धनी पो रहिछन् मार्टिना त ! मार्टिनाले विवाह गर्न लागेकोमा उनका सन्तान दर सन्तान सबै दिलैदेखि उनको विवाहको आनन्द लिइरहेका थिए । एक महिनाको म्यान्मार र सिङ्गापुरको हनिमुन मनाएर फेरि आइपुगे नयाँ दम्पती मेरोअगाडि । एक महिनाको हनिमुनमा पनि शारीरिक सम्बन्ध नराखेको त्यस दम्पतीले मसित हनिमुनको एक महिना कसरी बित्यो भन्ने कुरा सुनाउँदा मलाई लाग्यो- यिनीहरूको जस्तो हनिमुन त सायद सम्पन्नताले भरिपूर्ण भएको नयाँ यौवन जोडीको पनि हुँदैन होला । मार्टिनाको अगाडि मृत्युशय्या नजिकिँदै छ भन्ने प्रमाण उनले लिने गरेको किमोथेरापीको समय नजिकिएबाट पर बसोर हेर्ने हामीलाई त थाहा भइरहेको थियो भने मार्टिना र उनको श्रीमान्लाई कस्तो हुन्थो होला ! तर, उनीहरूको जीवनशैलीबाट हेर्दा जीवनलाई कसरी बाँच्ने भन्ने कुरा मार्टिना र उनका श्रीमान्ले देखाइदिएका थिए । जन्मिएपछि मर्नुपर्छ भन्ने त सबैलाई थाहा छ तर जन्म र मृत्युबीचको समयलाई कसरी बिताउने भन्ने मार्टिनाभन्दा अरू कसलाई थाहा होला । मार्टिना अझै बाँचेकै छिन् । म मार्टिनाबाट टाढा भएको दुई वर्ष भयो तर हामेो गफ हरेक हप्ता हुन्छ च्याटमार्फत ।
काठमाडौंमा हिजो मात्र म एकजना बिरामी भेट्न एक अस्पताल गएकी थिएँ । मेरो नातेदार ती महिलाको पाठेघरको अप्रेसन भएको थियो । म अस्पताल पुग्दा चारजना महिला बिरामीको छेउमा बसिरहेका थिए । उनीहरू भन्दै थिए- अप्रेसन गरेर शरीरको एक अङ्ग निकालेपछि अब जिन्दगी खतम भयो । अब केही गर्न सकिँदैन । केही दिन आराम गरेर धर्मकर्ममा बढी मन लगाउनू । बाँकी जिन्दगी भगवान्मा मन लगाउनू मरेपछिलाई राम्रो हुन्छ । शरीरमा लागेको रोग निकालेर फ्यालिसकियो अब आफ्नो जिन्दगी आफ्नो किसिमले बाँच्ने होइन कि बिरामी हेर्न आएका महिलाको हो मा हो मिलाउन व्यस्त बिरामी । अप्रेसन गरेर रोग फ्यालियो भन्ने भन्दा पशुपतिको ब्रह्मनालमा राखेको मानिसलाई राम राम भन भनेजस्तो मलाई त्यहाँ लाग्यो । मार्टिना र शीलादिदी दुवैको पाठेघरको क्यान्सर । जब कि दिदीको अवस्था थेरापी पनि लिनु नपर्ने छ भने मार्टिनाको त थेरापी चाँडो-चाँडो गर्दै लगिएको छ । तर, जीवनलाई हेर्ने आँखामा कत्ति फरक ! एक अमेरिकन नेपालीभन्दा आर्थिक रूपमा सम्पन्न त हुन्छन् नै तर दिमागी रूपमा पनि हामीभन्दा सम्पन्न उनीहरू नै छन् । के हामी पनि मार्टिनाको जस्तो हरचिजलाई सकारात्मक रूपमा हेर्न सक्दैनौँ र ? हाम्रो सोच मार्टिनाको सोचसरह बनाउन सक्ने दिन कहिले आउला ? मानसिक रूपमा भए पनि धनी बन्ने शौभाग्य त हामीमा आइहाले पनि त हुन्थ्यो नि !