भानु जयन्तीमा आदिकविको भाषिक योगदानबारे चर्चा

भानु जयन्तीमा आदिकविको भाषिक योगदानबारे चर्चा


  • डिल्ली अम्माई, बेल्जियम

अनेसास बेल्जियमले २०८औँ भानु जयन्ती कविता वाचन गरि मनाएको छ। विसं १८७१ मा तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा जन्मेका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती स्रष्टाहरुको प्रतक्ष संलग्नतामा बेल्जियमको सांस्कृतिक नगरी अन्त्वेर्पेनमा मनाइएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमका अध्यक्ष परमानन्द सापकोटाको सभापतित्व रहेको थियो भने महासचिव सौरभ कारंजितले भानुजयन्तिको संचालन गर्दै स्रष्टाहरुलाई सृजना बाचनको अनुमति दिएका थिए ।

चर्चा : भानुभक्तकाल भन्दा अगाडि साहित्यिक कार्यक्रम संस्कृत भाषामा हुने भएकोले सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा साहित्य र कलात्मक अभिब्यक्ति बुझ्न गाह्रो हुन्थ्यो । जतिबेला भानुभक्तले सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, त्यसपछि तात्कालिक खस भाषाको मौलिक साहित्यले जनजिब्रोमा रस भरि दियो ।

रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदिका कथा, उपकथाले पाठकलाई मनोरञ्जन दिनुका साथै सामाजिक, नैतिक र चारित्रिक शिक्षा समेत प्रदान गरेको छ । भनिन्छ भानुभक्तले अन्य थुप्रै कृति र फुटकर कविता रचना गरेर पनि वास्तवमा उनी रामायणमा बाँचेका छन् ।

अहिले विकसित भएका सिलोक (श्लोक) र लोक दोहोरीको परिष्कार गर्ने श्रेय पनि भानुभक्तलाई जान्छ । बिहे, ब्रतबन्ध जस्ता उत्सव वा पर्वहरुमा दोहोरी या सिलोक खेल्ने चलन बधु शिक्षाबाट विकसित भएको मानिन्छ । यस अर्थमा आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तद्वारा रचित कृतिहरु नै हुन् भन्दा अन्यथा हुने छैन ।

भानुभक्तको साहित्यिक सौन्दर्य तथा कलाले जनमानसमा क्रान्ति नै ल्याएको मानिन्छ । उनले सृजना गरेका लय अझै पनि नेपाली जनजिब्रोमा भिजेर रहनु त्यसको प्रमाण हो । भानुबाजे अर्थात् आदिकवि भानुभक्तको योगदानलाई सम्झेर नेपाल, भारतको दार्जिलिङ, सिक्किम, आसाम, बर्मा (म्यान्मार)लगायतका नेपाली समाज भएक विश्वभरिकै देशमा भानु जयन्ती मनाइन्छ । त्यसैले भनिएको होला भानु कवि मात्र नभएर नेपाली भाषाका श्रीगणेश हुन् र नेपाली पुगेको स्थानमा उनलाई कुनै न कुनै रुपमा सम्झना गरिन्छ ।

फेरि पनि मोतीराम भट्टको योगदानसँग नजोडी भानुभक्तको योगदान अपूर्ण हुन्छ । यूगकवि मोतीरामले भानुभक्तका अत्याधिक कृतिहरु प्रकाशमा ल्याएका हुन् । कतिले त आफ्ना अनन्य गुरु भएकोले भानुभक्तका अधिकांश कृतिहरु मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् । मोतीरामले वि.सं. १९४१ मा लामो समय भानुभक्तका बारेमा अन्वेषण र शोध गरि छपाएका भानु जीवन चरित्रपछि भानुभक्तका बहुआयामिक रचनाहरु जनमानसका सामु आएका हुन् । अर्को कुरा भानुलाई आदिकविको उपमा दिने साहित्यकार पनि मोति राम भट्ट नै थिए ।

भानुले खस भाषाको विकास गरेर नेपाली भाषामा रुपान्तरण गरी सम्पूर्ण नेपालीलाई अथाह गुण लगाएका छन् । त्यसैले भानुलाई आधुनिक नेपाली भाषाका विभुति पनि भनिन्छ । हामीले जति सक्छौँ त्यहि रुपमा नेपाली भाषाको अध्ययन, अनुसन्धान र विकासमा समर्पित हुनु नै भानुप्रतिको सच्चा श्रद्धासुमन हुनेछ ।