अमेरिकी सरकारबाट सहयोग प्राप्त खोप हस्तान्तरण

अमेरिकी सरकारबाट सहयोग प्राप्त खोप हस्तान्तरण


प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहकालाई निःशुल्क दिइने


अमेरिकी सरकारले कोभिड-१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप सोमबार नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गर्नुभएको हो । आज बिहान पौने १० बजे कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताउनुभयो । उहाँले कोभिड-१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा पुर्‍याइएको सहयोग तथा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई गरेको आग्रहबमोजिम कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन ऐक्यबद्धता जनाएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै खोप उपलब्ध गराइएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

pict:rss

प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खोप प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निःशुल्क दिइने छ । प्रधानमन्त्री ओलीले कोभिड-१९ सङ्क्रमणपछि मुलुक आर्थिक समृद्धिमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउने सकिने बताउनुभयो । उहाँले कोभिड-१९ को लडाइँमा अमेरिकी सरकारले नेपाललाई सहयोग पु¥याउँदै आएको जनाउँदै महामारीविरुद्धको लडाइँमा सबै एक जुट हुनुपर्ने बताउनुभयो ।

अमेरिकी सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो । सो खोप एक पटक लगाए पुग्छ । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ । नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ । खोप हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठको सहभागिता थियो ।