भुटानले प्राप्त गऱ्यो अमेरिकाले दिएको पाँच लाख खोप

भुटानले प्राप्त गऱ्यो अमेरिकाले दिएको पाँच लाख खोप



अमेरिकाले दिएको कोरोना भाइरसविरुद्धको पाँच लाख खोप भुटानले प्राप्त गरेको छ । भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खोप पुगेको त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाले भुटानलाई मोटर्ना खोप उपहारस्वरूप प्रदान गरेको हो ।

भारतस्थित अमेरिकी दूतावासले पनि वक्तव्य प्रकाशित गर्दै कोरोना भाइरसको महामारी न्यूनीकरण गराउन सहयोग गर्ने अमेरिकी सरकारको नीतिअनुसार खोप प्रदान गरिएको जनाएको एएनआईले सम्प्रेषण गरेको छ ।

अमेरिकी दूतावासको सो वक्तव्यमा लेखिएको छ, ‘हाम्रो लामो समयदेखिको मित्र भुटान र त्यहाँका जनतालाई दुःखको बेलामा सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ, यसले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ ।’

अमेरिकाले कोरोना भाइरसको महामारी व्यवस्थापन गर्नका लागि भुटानलाई यसअघि १० लाख अमेरिकी डलरसमेत सहयोग गरेको थियो ।

महामारी सुरु भएपछि देशको स्वास्थ्य सेवा विस्तारका लागि भन्दै अमेरिकाले भुटानलाई सहयोग गरेको हो । त्यसअन्तर्गत स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, उपकरण, प्रयोगशालालगायतका कार्य गर्न अमेरिकाले अनुरोध गरेको थियो ।

अमेरिकाले भुटानलाई अक्सिजन सिलिण्डर, मास्क, स्वास्थ्य उपकरणहरू, सवारी साधनहरू, भेन्टिलेटरहरू लगायत पनि उपलब्ध गराएको थियो ।