फेरि उठ्ने ठाउँमा पुगे प्रचण्ड

फेरि उठ्ने ठाउँमा पुगे प्रचण्ड



सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भएको फैसलाले माओवादी अध्यक्ष प्रचण्डलाई निकै ठूलो राहत महसूस गराएको छ ।

गत पुस ५ गते संसद् विघटनको घटना हुनुअघिसम्म संसदमा प्राप्त करिव दुई तिहाइ बहुमतको हैसियतलाई उपयोग गर्दै समाजवादी (एकदलीय) व्यवस्थामा छलाङ मार्ने प्रयास गरिरहेका प्रचण्ड त्यसयता निकै रक्षात्मक स्थितिमा पुगेका थिए । गत फागुन ११ गते संसद् पुनस्र्थापना गरिएपछि पनि अविश्वासको प्रस्ताव ल्याएर केपीलाई हटाउन नसक्दा उनी निरीह बनेका थिए । ठूलो पार्टीको एकलौटी मालिक र सम्पूर्ण सत्ताको स्वामी बन्ने सपना देखिरहेका प्रचण्डलाई गत फागुन २३ गतेको फैसलाले अर्को झट्का लगाएको थियो ।

ज्ञातव्य छ, फागुन २३ गते नेकपाको वास्तविक स्वामित्व ऋषि कट्टेलमा भएको स्पष्ट गर्दै नेकपालाई एमाले र माओवादी कित्तामा छुट्टिने मार्ग प्रशस्त गरिदिएको थियो । उक्त घटनापछि थप निरास बनेका प्रचण्डका निम्ति प्रधानमन्त्री पदबाट केपी ओलीलाई हटाउने कार्य हिंसात्मक युद्धमा हेलिएको अवस्थाभन्दा पनि चुनौतीपूर्ण बन्न पुगेको थियो । बाह्य शक्तिसमेतको सहयोगमा माधवकुमार नेपाललाई एमालेबाट छुटाउन सफल नभएको भए प्रचण्डले थप सकसपूर्ण स्थिति सामना गर्नुपर्ने हुन सक्थ्यो । माधवको साथले अदालतलाई आफूअनुकुल निर्णय गर्न मिल्ने ठाउँमा पु¥याएको र अदालतको निर्णयले केपीलाई पदमुक्त गरिदिएकोले प्रचण्ड अब फेरि उठ्न सक्ने ठाउँमा आइपुगेका छन् ।

माधवकुमार नेपालले अब एमालेमै फर्किने, विपक्षी गठबन्धनमा सामेल नहुने बताएका छन् । एमालेलाई आफ्नो काबुमा लिने र पुनः माओवादीसँग एकीकरण गरी गत वर्षको पौष ५ गतेअघिकै अवस्थामा पुऱ्याउने सोच माधव नेपालको भएको बताइन्छ । माधव नेपालको जस्तै सोच प्रचण्डमा पनि रहेको बुझिएको छ । माधवको हातमा एमाले पुऱ्याउने र एमाले-माओवादी पुनः एकीकरण गरी ठूलो पार्टीको एकलौटी मालिक बन्ने प्रचण्डको इच्छा पूरा हुने सम्भावना फेरि बढेको छ ।

तर एमालेको युवा पुस्ताका नेताहरू भने पहिलो पुस्ताका नेताहरूलाई परामर्शदाताको भूमिकामा सीमित गरी पार्टीलाई आफ्नै कमाण्डमा राख्ने मानसिकतामा छन् । गत आइतबार (असार २७) दश सदस्यीय कार्यदलले दशबुँदे सहमतिपत्र तयार गर्दा पनि त्यसमा पार्टीको पहिलो पुस्ताका नेताहरूको आकाङ्क्षालाई बेवास्ता गरेको छ । र, दशबुँदे सम्झौतापत्रले दोस्रो पुस्ताका नेताहरूको चाहनालाई मात्र सम्बोधन गर्न खोजेको छ । अर्कोतिर केपी ओली स्वयम्बाट पनि माधव र प्रचण्डको इच्छापूर्तिमा सहयोगी भूमिका निर्वाह हुने विश्वास गरिन्न । जे भए पनि प्रचण्ड र माधव राहत महसूस गर्ने ठाउँमा भने पुगेका छन् ।