तालिबान समूहद्वारा पाकिस्तानसँगको सीमा नाका कब्जा गरिएको दाबी

तालिबान समूहद्वारा पाकिस्तानसँगको सीमा नाका कब्जा गरिएको दाबी



तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहारनजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ । यद्यपि अफगान अधिकारीहरूले उक्त चौकी तालिबानद्वारा कब्जा गरिएको कुरालाई अस्वीकार गरेका छन् ।

तर सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा तालिबान विद्रोहीहरूले पाकिस्तानी सीमा सुरक्षा बलसँग कुराकानी गरिरहेको देखिएको एएफपीले जनाएको छ ।

तालिबानले उक्त सीमा नाकालाई नियन्त्रणमा लिएको दावी सञ्चारमाध्यमहरूसँग गरेका बताइएको छ । हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन् ।

उनीहरूले श्रृङ्खलावद्धरूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् ।
यसरी कब्जा गरिएका सिमा क्षेत्रहरूमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू रहेका छन् ।

राष्ट्रपति जो बाइडनले तय गरेको मिति सेप्टेम्बर ११ भन्दा अघि नै अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आफ्ना आक्रमणहरूलाई सशक्त पार्दै गइरहेका छन् ।

२० वर्षअघि अमेरिकी सेनाको नेतृत्वमा तालिवानको नेतृत्वमा रहेको सरकारलाई नेटो सेनाको सहयोगमा विस्थापित गरिएको थियो ।

पाकिस्तानमा भएको बम विष्फोटमा चिनियाँ नागरिकसहित बाह्र जनाको मृत्यु

पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको सिन्ह्वाले जनाएको छ ।

स्थानीय समय बुधबार बिहान सात बजे चिनियाँ कम्पनीले निर्माणको लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो ।

विष्फोटपछि चिनियाँ दूतावासले तत्काल आपतकालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गरेको र पाकिस्तानी सेना तथा विदेश विभाग एवम् आन्तरिक मन्त्रालयलगायत पाकिस्तानी सरकारी विभागहरूसँग सम्पर्क राखी पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ ।

पाकिस्तानमा चिनियाँ संस्था, परियोजना र श्रमिकहरूले यस घटनाको जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ ।

बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य तत्काल आरम्भ गरेको बताइएको छ ।