ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटी बुझाएर ‘मुक्त’

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटी बुझाएर ‘मुक्त’



ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग विशेष अदालतले रु १० लाख धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बुधबार थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले बुधबार नै १० लाख बुझाएका छन् ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेता गच्छदारविरुद्ध रु नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो ।

अदालतमा मुद्दा चलेपछि गच्छदार ‘फरार’ रहँदै आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भेलिपल्टै गच्छदार धरौटीमा रिहा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टिप्पणीकर्ताहरुले मुलुकमा ‘सुशासन शुरु भएको’ भनी ब्यङ्ग्य गरेका छन् ।