नयाँ पुस्तालाई एमाले नेता बाँस्कोटाको सुझाव- ‘देशभक्त बन्नु तर पार्टीभक्त कहिल्यै नबन्नु’

नयाँ पुस्तालाई एमाले नेता बाँस्कोटाको सुझाव- ‘देशभक्त बन्नु तर पार्टीभक्त कहिल्यै नबन्नु’


नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन् । पनौती नगरपालिकालाई ‘बालमैत्री स्थानीय शासन नगरपालिका’ घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुने सुझाव दिए ।

सांसद बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिए । उनले भने, ‘बालबालिकाले धैर्यपूर्वक राजनीतिक चेतना राख्दै देशभक्त बन्नू तर पार्टीभक्त कहिल्यै नबन्नू ।’ अधैर्यले स्वयं व्यक्तिगत र राजनीतिक दलको उद्देश्यमा ठूलो आघात पुग्ने र यसको असर हालै भोग्नुपरेको उनको धारणा थियो ।

किशोरकिशोरीको लामो जीवन रहेकाले अबको विकास र सुरक्षा उनीहरुलाई चाहिएको भन्दै उनले अघिल्लो सरकारले सुख-समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको जनादेशले नभई परमादेशले बहिर्गमन भएको तर्क गर्दै उनले भने, ‘नेपाली कांग्रेसलाई शुभकामना छ, अबको थप प्रक्रियामा बहुमत पुगोस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम शुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन होऊन्, योजनाका बजेट नकाटियोस् ।’

पार्टीभित्रकै चुनौतीले संविधान सङ्कटमा पर्न सक्ने र पार्टी कमजोर भए लोकतन्त्र कमजोर हुने नेता बाँस्कोटाको भनाइ थियो ।

कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमाले पनौती नगरपालिका संयोजक सुरेशप्रसाद हुमागाइँ, कांग्रेसका पनौती नगरसभापति रामशरण भण्डारी, जिल्ला बाल सङ्गठनका अध्यक्ष विदुरप्रसाद हुमागाइँलगायतले नगरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न शुभकामना व्यक्त गरे भने नगरप्रमुख भीमप्रसाद न्यौपानेले नगरका १२ वडामा ४९ सूचक पूरा गरिएको र नगरमा १६ हजार ५१० बालबालिका रहेको जानकारी दिए ।

पनौती नगर बालमैत्री स्थानीय शासन घोषणा गर्ने नेपालमा आठौँ, प्रदेशमा चौथो र जिल्लामा दोस्रो नगरपालिका भएको छ ।

pict:rss