- सनत आचार्य, बेल्जियम
गैरआवासीय नेपाल संघ बेल्जियमको आसन्न निर्वाचनमा उम्मेदवारी दिने व्यक्ति नहुँदा अधिकांश तल्लो पदहरूमा निर्विरोध चयन गरिएका छन् भने केही पदमा विधानबमोजिम आवेदन पर्न सकेको छैन ।
निर्वाचन प्रमुख लोकप्रसाद दाहालका अनुसार अध्यक्ष पदका लागि तीन जना अनुजा प्रधान, खड्गबहादुर केसी र सीपी भट्टले उम्मेदवारी दिएका छन् । त्यस्तै, दुई उपाध्यक्ष पदका लागि चार जना कासी दनै, तीर्थ धमला, रमेश सापकोटा र लालबहादुर गुरुङले उम्मेदवारी दिएका छन् भने एक महिला उपाध्यक्षका लागि ईश्वरा शर्मा र सुशीला खतिवडाको उम्मेदवारी परेको छ ।
महासचिव पदका लागि जनकराज सुवेदी र रमेश कँडेल मैदानमा देखिएका छन् । त्यस्तै, दुई सचिवका लागि जगदीश सापकोटा, रमेश दहाल, रुद्रमणि लम्साल र सुवास भट्टको उम्मेदवारी परेको छ ।
यसैगरी कोषाध्यक्ष पदका लागि कुमार जोशी (केदार) र पुष्प नेपाल (लोकेन्द्र) प्रतिष्पर्धामा छन् । एउटा महिला संयोजक पदका लागि शैलजा शर्मा सापकोटा कट्टेल र सावित्री गिरीले उम्मेदवारी दिएका छन् ।
युवा संयोजकमा राजु पाख्रीनको मात्र उम्मेदवारी परेकोले दाबी विरोध नपरेमा उनी निर्विरोध निर्वाचित हुने छन् ।
खुल्ला सदस्यको पद ६ जनाको रहेकोमा पाँच जनाले मात्र उम्मेदवारी दिएको र यसमा पनि दाबी विरोध नभएमा कृष्ण पुन, दीपक थापा मगर, दीपक गुरुङ, राजुप्रसाद बराल र रुविना शर्मा निर्विरोध हुने छन् ।
त्यस्तै, दुई जना महिला पदमा तारा बिष्ट पौडेल र लक्ष्मी सुवेदीको मात्र उम्मेदवारी परेको हुँदा उनीहरू पनि निर्विरोध हुने छन् ।
सात जना क्षेत्रीय संयोजक चयन गर्नुपर्नेमा पाँच जनाले मात्र उम्मेदवारी दिएकोमा कसैको दाबी बिरोध नभएमा पाँचै जना निर्विरोध हुने छन् । निर्विरोध हुनेमा ऐलेन खड्का (आन्तर्पेन), शेखर राई (लुभेन), दीपक सापकोटा (गेन्ट), दौलत साम्वा (ब्रुज) र अर्जुन घिमिरे (ब्रसेल्स) रहेका छन् ।
त्यस्तै, क्षेत्रीय संयोजकमा ओइस्टन्डे र सिन्त्रोजिन क्षेत्रबाट कसैको पनि उम्मेदवारी नपरेको हुँदा सो क्षेत्रको पद खाली रहने र पछि कार्यसमितिले मनोनयन गर्न सक्ने निर्वाचन आयुक्त लोकप्रसाद दहालले जानकारी दिए ।
आयुक्त दहालका अनुसार युवा संयोजक र खुल्ला सदस्य पदमा आवश्यक संख्या भन्दा कमको उम्मेदवारी परेको हुँदा आज (शुक्रबार) साँझसम्म दाबीविरोध नभएमा निर्विरोध हुने छन् । सकेसम्म सबैको सहमतिअनुसार चुनाव नगर्ने सोच रहेकोमा त्यो अवस्था नभएकोले आफूहरू निर्वाचन प्रकृयाअनुसार नै अगाडि बढेको उनले बताए । दहाल भन्छन्– ‘चुनाव नगर्ने भन्ने थियो तर सहमति हुने देखिएन । त्यसकारण पनि आवश्यक प्रकृयामा जान बाध्य भयौँ ।’
संघको पूर्वनिर्धारित कार्यक्रम अनुसार जुलाई १८ मा वार्षिक अधिवेशन हुने छ भने जुलाई २५ मा निर्वाचन । हालसम्म दुई हजार १६२ मतदाता रहेको निर्वाचनमा कांङ््रेस, माओवादी, माधव नेपाल समुह र संघीय समाजवादी पार्टी लोकतान्त्रिक समावेशी समुह बनाएर चुनावी मैदानमा छ भने नेकपा एमालेनिकट समुहले केही स्वतन्त्र व्यक्तिहरुको साथमा चुनाव लड्दैछ । लोकतान्त्रिक समावेशी समुहको नेतृत्व सीपिी भट्टले र अर्को समुहको खड्गबहादुर केसीले गरेका छन् ।
त्यस्तै, अध्यक्ष पदमा अनुजा प्रधानले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । प्रधानले आफू कुनै गुट–उपगुटको उम्मेदवार नभई संघलाई नेतृत्व प्रदान गर्ने सक्षम उम्मेदवारको रुपमा प्रस्तुत भएको बताएकी छन् । ‘हाम्रो राम्रो एनआरएन, नयाँ पुस्ता सुहाउँदो एनआरएन’को नाराका साथ एनआरएनएमा नयाँ पुस्ताको आवश्यकता भएको प्रधानमको धारणा छ । राजनीतिक रुपमा उनी काग्रेसनिकट मानिन्छिन् ।
भट्टको नेतृत्वमा पदाधिकारीमा उपाध्यक्षमा कासी दनै, रमेश सापकोटा छन् भने महिला उपाध्यक्षमा सुशीला खतिवडा छिन् । महासचिबमा रमेश कँडेल र सचिवमा जगदीश सापकोटा र रमेश दहाल छन् । कोषाध्यक्षमा कुमार जोशी (केदार) छन् । त्यस्तै महिला संयोजकमा सावित्री गिरी छिन् । केसीले नेतृत्व गरेको समुहबाट उपाध्यक्षमा तीर्थ धमला छन् । धमला यसअघिको कार्यकालमा महासचिवको रूपमा कार्यरत थिए । उपाध्यक्षका अर्का प्रत्यासी लालबहादुर गुरुङले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएका छन् ।
महासचिव पदका लागि यो समुहवाट जनक सुवेदी रहेका छन् भने सचिवमा रुद्रमणि लम्साल र सुवास भट्ट अगाडि आएका छन् । कोषाध्यक्षमा पुष्प नेपाल (लोकेन्द्र) छन् । त्यस्तै महिला संयोजकमा शैलजा शर्मा सापकोटा कट्टेल छिन् ।
चर्को मनोनयन शुल्क !
यसैबीच कतिपय उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न चर्को शुल्क लिएको भनेर विरोध गरेका छन् । संघले अध्यक्ष पदमा मनोनयन गर्न एक हजार ५०० युरो, उपाध्यक्ष र महासचिव र कोषाध्यक्ष पदका लागि आठ सय युरो, सचिवका लागि पाँच सय युरो, युवा र महिला संयोजकका लागि तीन सय युरो र सदस्यहरुका लागि दुई सय युरो लिने गरेको छ ।
एक मतदाताका अनुसार यसरी उठेको रकम निर्वाचन समितिले निर्वाचनको प्रारम्भिक चरणदेखि निर्वाचन घोषणा भएको भोली पल्टसम्म खर्च गर्ने फजुल खर्च भनि टिप्पणी गरेका छन् ।
नाम नबताउने शर्तमा ती व्यक्ति भन्छन्– ‘यो रकम निर्वाचन समितिले खाना, खाजा र आफ्नो गाडीमा तेल हाल्नसमेत प्रयोग गर्ने गरेको विगतमा देखिएको हुँदा यसरी मनोनयनबाट उठेको रकम यस्तोमा खर्च नगरी सञ्चित गरेमा भोलिका दिनमा कतै आवश्यक पर्दा सहयोग गर्न सकिने थियो ।’
प्रतिक्रिया