प्रधानमन्त्रीले खोप केन्द्र बढाउन निर्देशन दिएकै दिन काठमाडौंमा ‘भेरोसेल’ खोप अभियान स्थगन

प्रधानमन्त्रीले खोप केन्द्र बढाउन निर्देशन दिएकै दिन काठमाडौंमा ‘भेरोसेल’ खोप अभियान स्थगन


सरकारले काठमाडौंमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएकै दिन खोप अभियान स्थगित गरिएको हो । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो ।

काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिए ।

खोप अभियान यही साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । खोप अभियानका लागि काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराइँदै आइरहेको थियो ।

भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करिब आठ लाख खोप आएपछि खोप अभियान सञ्चालन भएको थियो ।

ज्ञातव्य छ, प्रधानमन्त्री देउवाको पद बहालीलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैतभित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने निर्णय लिइएको थियो ।