लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन

लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन


  • पुनहरि बेल्बासे, भैरहवा

मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । विभागले यो आवमा भन्सारलाई ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँ राजस्व असुली लक्ष्य तोकेको थियो । भन्सार कार्यालयले भने १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्य भन्दा १३ प्रतिशतले बढी हो । विगत तीन आर्थिक वर्षमा भन्सारले राजश्व लक्ष्य पूरा गर्न सकेको थिएन ।

भन्सारले आर्थिक वर्ष २०७४/७५ मा ८१ अर्व ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य पाएकोमा ७० अर्व २८ करोड ९३ लाख ५ हजार अर्थात् लक्ष्यको ८६ प्रतिशत मात्र अर्थात् राजस्व असुली गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ९३ अर्व ९५ करोड ९७ लाख ७३ हजार लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र राजस्व असुली भएको थियो । २०७६/०७७ मा १ खर्व ६ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा ६६ प्रतिशत अर्थात् ७० अर्व २९ करोड १५ लाख ९७ हजार मात्र राजस्व संकलन भएको थियो । कोरोना महामारीबीच पनि पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्नु, गैरभन्सार क्रियाकलाप नियन्त्रण हुनु, मोटरसाइकललगायत बढी राजस्व संकलन हुने वस्तु आयातमा वृद्धि भएकाले पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार आब ०७७/७८ मा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट संकलन भएको छ । मोटरसाइकलबाट २० अर्ब ६३ करोड १४ लाख ५४ हजार संकलन भएको छ । यस्तै, एमएस विलेटबाट ५ अर्ब ६९ करोड ४९ लाख ४० हजार, ग्लेज टाइलबाट ३ अर्ब ४३ करोड १२ लाख, हाइस्पीड डिजेलबाट २ अर्ब ६३ करोड ८९ लाख ७४ हजार, सिंगल क्याव पिकअप गाडीबाट २ अर्ब ६२ करोड ५० लाख ७१ हजार, डबल क्याव पिकअप गाडीबाट २ अर्ब ४७ करोड ९४ लाख ४२ हजार राजस्व संकलन भएको छ ।

यस्तै, पेट्रोलबाट २ अर्ब ४१ करोड ६६ लाख ५४ हजार, पोलीथिन दानाबाट १ अर्ब ५० करोड ९७ लाख ७३ हजार, मार्वल स्ल्याबबाट १ अर्ब ४४ करोड ९८ लाख ३९ हजार र ट्रक, मिनी ट्रकबाट १ अर्ब १५ करोड ८६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।