पाकिस्तानमा भएको सवारी दुर्घटनामा २७ को मृत्यु, ३० घाइते

पाकिस्तानमा भएको सवारी दुर्घटनामा २७ को मृत्यु, ३० घाइते



पाकिस्तानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते भएका सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।

तीव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्किँदा दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।

घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।