कांग्रेस अधिवेशनको राजनीतिले तात्यो कान्छो जिल्ला नवलपुर

कांग्रेस अधिवेशनको राजनीतिले तात्यो कान्छो जिल्ला नवलपुर


  • आरपी उपाध्याय, नवलपरासी

आगामी नेपाली काङ्ग्रेसको चौधौँ माहाधिवेशनलाई लक्षित गर्दै पार्टीगत गतिविधि संचालन र उम्मेदवारका आकांक्षीहरुको चर्चा परिचर्चाबाट काङ्ग्रेसको राजनीति निकै तातिएको छ । लोकतान्त्रिक पद्धतिमा आस्था र विश्वास राख्ने वर्गको बाक्लो जनसमुह काङ्ग्रेसको स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रमा कस्तो चेहेरा नेतृत्वमा आउने हो यसबारे सबैको ध्यान केन्द्रीत छ भने आफ्नो अनुकुलको नेतृत्व बनाउने बारे पनि चर्चा र गृहकार्य अन्तिम चरणमा पुग्न थालेको बुझिएको छ।

नेपालकै सबैभन्दा कान्छो जिल्लाको रूपमा रहेको नवलपुर काङ्ग्रेस वृत्तमा पनि जिल्ला सभापति पदमा आकांक्षीको सङ्ख्या वृद्धि हुँदै छ। अन्तिम अवस्थामा पनि यो सङ्ख्या अझ थपिने सम्भावना रहेको काङ्ग्रेस श्रोतले बताएको छ ।

नेपाली काङ्ग्रेसको विगतका अधिवेशनमा आउने प्रतिनिधि र यस पटकको जटिल अवस्थामा निर्वाचित प्रतिनिधिहरु गुटगत लोभ त्यागेर पार्टी बलियो बनाउने र युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने आवाज पनि उठेको पाइन्छ । अहिले नवलपुर काङ्ग्रेस सभापति पदको आकांक्षीहरुमा पाँच व्यक्ति चर्चामा रहेका छन् । सभापति पदको आकांक्षीहरुमा महेन्द्रध्वज जिसी, विष्णु लामिछाने, मदनभक्त अधिकारी, बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरको विषेश चर्चा चलेको छ।

चर्चित व्यक्तिहरुमा जिसीपन्चायत कालदेखि नै नवलपरासी काङ्ग्रेसको नेतृत्व तहमा रही १० वर्ष सम्म पार्टीको जिल्ला सचिव सम्हालेका थिए । उनी २०५१ सालको प्रतिनिधिसभा सदस्य, २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए भने दुई पटकसम्म जिविस सभापति पदमा निर्वाचित थिए । जिसी बाह्रौँ र तेह्रौँ अधिवेशनमा देवेन्द्रराज कँडेल र विष्णु लामिछानेसँग झिनो मतले सभापति पदमा पराजित भएका जिसी यसपटक पुनः पार्टीको जिल्ला सभापति पदको आकांक्षी रहेका छन् ।

सभापति पदका अर्का आकांक्षी अधिकारी काङ्ग्रेस नेता स्व. सुर्यभक्त अधिकारीका सुपुत्र हुन् । उनी काङ्ग्रेस महासमिति सदस्य हुन् । अधिकारी नेपाल रेडक्रस सोसाइटीको जिल्ला सभापति पदमा समेत रहेका छन् भने यसपटकको अधिवेशनमा पार्टी सभापतिको उम्मेदवारको रुपमा चर्चामा छन् ।

यस्तै, सभापति पदका अर्का आकांक्षी हालका सभापति विष्णुप्रसाद लामिछाने पनि हुन् । उनी पुनः सभापतिमा उम्मेदवार बन्ने चर्चा छ। लामिछाने अहिले गण्डकी प्रदेशसभा सदस्य पदमा रहेका छन् भने साविक नवलपरासी रहँदा कार्यालयसचिव तथा कार्यसमिति सचिवको पदमा काम गरेको अनुभव उनसँग छ। नेपाली काङ्ग्रेस नवलपुरको हालको सचिव पदमा रहेका बालकृष्ण घिमिरे पनि चर्चित आकांक्षी छन् । उनी नेविसंघको राजनीतिबाट आएको युवापुस्ताका व्यक्ति हुन् । घिमिरे युवापुस्तालाई नेतृत्वमा पुर्‍याउनु पर्ने माग अघि सार्दै लाभको भन्दा पार्टी सङ्गठन बलियो बनाउनु पर्ने उनको उदघोष छ । घिमिरे युवाहरूलाई राजनीतिक र सामाजिक दायरामा ल्याउन उम्मेदवारीको आकांक्षी रहेको बुझिएको छ। उनी प्रजातान्त्रिक विचार समाज नवलपुरका सङ्स्थापक अध्यक्ष पदमा रहेका छन् ।

यसैगरी अध्यक्ष पदका अर्का आकांक्षी गजेन्द्र आले मगरको पनि बेग्लै चर्चा चलेको छ। आले नेपाली काङ्ग्रेस महासमिति सदस्य रहेका छन् भने नेपाली काङ्ग्रेसको राजनीतिमा जनजातिले पनि अवसर पाउनुपर्ने उनको माग रहँदै आएको छ ।

नवलपुर जिल्लामा १६,७७९ कृयाशील सदस्य रहेका छन् जसमा ७७९ पुराना सदस्य रहेको पाइएको छ । नेपाली काङ्ग्रेसको आउदो अधिवेशनमा साउन १२ गतेदेखि वडा तहमा अधिवेशन हुँदै छ भने साउन १६ गते गाउँ र नगर र साउन २० गते क्षेत्रीय अधिवेशन तथा साउन २४ गते प्रदेश तहमा र भदौ १६ देखि १९ सम्म केन्द्रीय अधिवेशन हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ। नवलपुर जिल्लामा काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल र उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि अधिवेशनमा विशेष चासो र भूमिका रहने अनुमान गरिएको छ ।