कोभिड महामारीका बाबजुद ३२ करोड राजस्व संकलन

कोभिड महामारीका बाबजुद ३२ करोड राजस्व संकलन


  • डम्बर निदाल, डडेल्धुरा

आन्तरिक राजश्व कार्यालय डडेल्धुराले गत आर्थिक वर्षमा ३२ करोड राजस्व संकलन गरेको छ । डडेल्धुरासहित सुदुरपश्चिम प्रदेश अन्तर्गतका बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुरा जिल्लासमेत कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको अवधिमा ३२ करोड बढी राजस्व संकलन गरेको हो । तर गत आर्थिक वर्षमा उक्त कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न भने सकेको छैन ।

बितेको आर्थिक वर्षमा ३८ करोड वार्षिक राजश्व संकलन गर्ने लक्ष्य लिए पनि जम्मा ३२ करोड मात्रै राजस्व संकलन भएको आन्तरिक सो कार्यालयले जनाएको जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण भएको निषेधाज्ञाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जम्मा ३२.०९ करोड रुपैंया राजश्व संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराका कर अधिकृत तिलक राज बोगटीले जानकारी दिए । उनका अनुसार प्रतिशतमा यो ८३.३ प्रतिशत हो ।

संकलन भएको राजस्वअन्तर्गत आयकरमा १२ करोड ३१ लाख, मुल्य अभिबवद्धि करमा १७ करोड ९३ लाख र अन्तःशुल्क अन्तर्गत एक करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

कार्यालयले व्यक्तिगत वा एकलौटि फर्म, आयकर, पूँजिगत लाभकर, प्रालि दर्ता तथा ब्याज लाभांश, बहाल र आकस्मिक कर, पारीश्रमिकमा आधारित सामाजिक सुरक्षा कर, बस्तु बिक्री तथा वितरण, परामर्श र ठेक्का, संचार बिमा हवाइ तथा पर्यटन सेवा, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रिवितरण र औद्योगिक उत्पादन, सरकारी प्रतिष्ठान तथा व्यक्तिगत पान दर्ता गरिएका फर्महरुबाट गत आर्थिक वर्षभरिमा सो राजस्व संकलन भएको स्पष्ट गरेको छ ।

डडेल्धुरामा आन्तरिक राजस्व कार्यालय खुलेपछि सुदूरपश्चिम प्रदेशको सातवटै पहाडी जिल्लाका करदातालाई कैलाली र कञ्चनपुर पुग्नुपर्ने बाध्यता हटेको मात्र नभइ सबै सेवाहरु इन्टरनेट सर्भरबाट दिन थालेपछि छिटोछरितो र चाप नहुने भएकोले समयमै काम हुन्छ र सेवाग्राही खुशी पनि भएका छन् । कार्यालयले बायोमेट्रिक प्रणालीबाट पनि सेवा दिइरहेको छ । पहाडी सबै जिल्लामा कर शिक्षासम्बन्धी कार्यक्रम समेत गरिएको र कोरोनाका कारण कर छुट पनि गरिएको कार्यालयका कर अधिकृत तिलकराज बोगटीले बताए ।

कर कार्यालयमा आउने सेवाग्राहीका लागि कार्यालयअघिल्तिर खुलेका आधा दर्जन बढी अनलाइन सर्भिस फर्महरुले सेवाग्राहीलाई सहजीकरणका साथ आवश्यक सेवासुबिधा प्रदान गरेका छन् भने आन्तरिक राजस्व कार्यालय डडेल्धुरालअन्तर्गत डोटीको दिपायल, अछाम र बाजुराका लागि साँफेबगरमा सेवा कार्यालय स्थापना भइ सेवा उपलब्ध गराइएको छ ।