देशकै पुरानो चन्द्रनहर भत्कियो

देशकै पुरानो चन्द्रनहर भत्कियो



अविरल वर्षाका कारण सप्तरीस्थित देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका-४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुऱ्याएको छ ।

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिँदै नहर भत्किएपछि सप्तकोसी १, २, ४ र ११ वडाका करिव ३०० घरसमेत डुबानमा परेको बताएका छन् । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।

यस्तै जिता नदीको बाढीले तिलाठी-कोइलाडी गाउँपालिका-७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन् । तिलाठी कोइलाडी-७ को मन्सापुर र वडा नं ५ को बरसाइनका करिव २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ ।