षडयन्त्र बुझेपछि रावलको राजीनामा

षडयन्त्र बुझेपछि रावलको राजीनामा



नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुको कारणबारे राजनीतिक क्षेत्रमा सर्वत्र चासो प्रकट भएको छ । रावललाई निकटबाट चिन्नेहरूले उनको तरल स्वभावलाई राजीनामाको कारण मानेका छन् ।

एमाले महाधिवेशनमा एक पटक पराजित भएपछि रुष्ट भएका रावलले केन्द्रीय सदस्य पदमा गरिएको नियुक्तिलाई उपेक्षा गर्दैै झण्डै एक वर्षसम्म चुपचाप बसेका थिए । अलिक आवेगी मानिएका नेता भीम रावलले राष्ट्रवादी नेताको छवि बनाएका छन् ।

पछिल्लो समय एमाले एकताका निम्ति विशेष रूपले सक्रिय रहेका रावल केपी ओली र माधव नेपालबीच मेलमिलाप गराउने जोडदार प्रयासमा थिए । श्रावण ३ गते आइबार माधव नेपालसँगको भेटमा रावलले शेरबहादुर देउवालाई संसद्मा विश्वासको मत दिन नहुने र, पार्टीको निर्णयअनुसार विपक्षमा मतदान गर्नुपर्ने राय प्रकट गरेका थिए । तर रावलको कुरामा माधव नेपालले सहमति जनाएनन् । देउवालाई मतदान गरेर संसद् बचाउने र केपीलाई ठेगान लगाउने भनाइ माधवको रह्यो ।

यस विषयलाई लिएर दुई नेताबीचको बहस तातो हुँदै गयो, रावलले विपक्षमा मतदान गर्नुपर्ने अडान लिइरहे र, माधवलाई समेत देउवाका विरुद्ध मतदान गर्न दबाब दिन थाले । यसरी चर्काचर्की परेपछि बहसकै क्रममा माधवले भने- ‘आजै विश्वासको मत लिनुपर्छ भनेर देउवालाई मैले नै भनेको हुँ, मतदान नगर्ने भन्ने कुरै आउँदैन । हामीले बेग्लै पार्टी गठन गर्नुपर्छ, केपीसँग अगाडि जान सकिँदैन ।’ माधवको यस्तो कुरा सुनेर स्तब्ध भएका भीम रावलले जवाफ फर्काउँदै माधवलाई भने- ‘त्यसोभए तपाईं षडयन्त्रकारी हुनुहुँदोरहेछ, पार्टी विभाजन गराउने प्रकारका कुनै गतिविधिमा सहभागी हुन चाहन्नँ ।’

माधव नेपालको नियत स्पष्ट भएपछि रावलले तत्काल सांसद पदबाट राजीनामा दिएर संसद् भवन परिसरमै पत्रकार सम्मेलनको आयोजना गरे । रावलको राजीनामा घोषणा रोक्न अर्का पार्टी एकता पक्षधर नेता सुरेन्द्र पाण्डेले निकै प्रयास गरेका थिए, तर रावल रोकिएनन्, पत्रकार सम्मेलनमार्फत आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गरिछाडे । यसरी रावलले राजीनामा दिनुको मूख्य कारण माधव नेपालको सोच र ‘षडयन्त्र’ भएको बुझिएको छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई राजीनामा फिर्ता लिन अनुरोध गरेको जानकारीमा आएको छ ।