ओलम्पिकमा ‘वाइल्ड कार्ड’को यात्रा कहिलेसम्म ?

ओलम्पिकमा ‘वाइल्ड कार्ड’को यात्रा कहिलेसम्म ?



विदेश सयर गर्ने माध्यम बन्दै ‘ओलम्पिक’ !

  • श्रीविक्रम भण्डारी

खेलकुदको महाकुम्भ मानिने ओलम्पिक प्रतियोगितामा नेपालले सहभागिता जनाएको आधा शताब्दीभन्दा बढी अर्थात् ५६ वर्ष भैसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपल्ट सहभागिता जनाएको थियो । यसपछि बाग्मतिमा धेरै पानी बगिसकेको छ तर नेपालको ओलम्पिक यात्राको चर्चा गर्दा नाक खुम्च्याउनुपर्ने अवस्था छ । नेपाल अहिले पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले विश्वका विभिन्न राष्ट्रलाई दयामायाले दिने ‘वाइल्ड कार्ड’मै सीमित छ । साँचो अर्थमा भन्नुपर्दा नेपालको ओलम्पिक सहभागिता वाइल्ड कार्डकै भरमा टिकेको छ । नेपालले वाइल्ड कार्ड प्राप्त गरेर ओलम्पिकमा खेल्नु पाउनुलाई ठूलो उपलब्धि मानेको छ, यो नै तितो सत्य हो ।

ओलम्पिक खेलकुदको इतिहासमा छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् तेक्वान्दोकी संगीना वैद्य । संगीनाले सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुँदा दुई विदेशी खेलाडीलाई पराजित गरेकी थिइन् । त्यस्तै, सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेका थिए । उनले एउटा खेलमा वाई र अर्कोमा विजय प्राप्त गर्दै ओलम्पिकको यात्रा तय गरेका थिए । संगीना र दीपकबाहेक अन्य सबै नेपाली खेलाडी वाइल्ड कार्डकै भरमा ओलम्पिक पुगेका हुन् । यतिबेला नेपालमा सयौँ ओलम्पियन आवरणमा देखिएका छन् तर वास्तविक ओलम्पियन भनेका संगीना र दीपक मात्रै हुन् भन्दा अतिशयोक्ति नहोला । यी दुई राष्ट्रिय धरोहरकै कारण नेपालको ओलम्पिक यात्रा गौरवमय बनेको छ ।

संगीना र दीपक छनोट चरण पार गरेर ओलम्पिक पुगेपछि राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव तथा वर्तमान नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भिजन ट्वान्टी-२० को अवधारणा अघिसारेका थिए । सो अवधारणाअन्तर्गत श्रेष्ठले सन् २०२० को ओलम्पिकमा नेपालले छनोट चरण पार गर्दै स्वर्ण पदक जित्ने योजनाको खाका समेत कोरेका थिए । तर विड्म्बना, भिजन ट्वान्टी–२० को बोर्ड लामो समयसम्म परिषद् दिवारमा झुण्डिए पनि त्यो अर्थहीन सावित भयो । परिणामतः अहिले पनि ओलम्पिक यात्रा वाइल्ड कार्डकै भरमा निर्भर बन्नुप¥यो । यो नेपाली खेलकुदको लागि कुनै प्रसव पीडाभन्दा कम होइन । र पनि, वाइल्ड कार्डकै भरमा खेलाडीहरूलाई ओलम्पिकमा सहभागिता गराउनेहरूले यसलाई ठूलो सफलता मान्दै सगरमाथाको चुचुरोमा पुगेको जस्तै गौरव र घमण्ड गर्दै आएका छन् । यो समग्र खेलकुदको लागि लाजमर्दो घटना भए पनि सम्बन्धित निकायका पदाधिकारीहरू भने लाज पचाएरै जम्बो टोली ओलम्पिकको सयर गराउन चुकेका छैनन् । जुन टोकियो ओलम्पिक २०२० मा पनि दोहरिएको छ ।

टोकियो ओलम्पिक २०२० आगामी साउन ८ देखि २४ गतेसम्म जापानमा सञ्चालन हुँदैछ । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट वाइल्ड कार्डमार्फत पाँच जना खेलाडीले सहभागिता जनाउँदैछन् । जसमा पौडीतर्फ गौरिका सिंह, एलेक्स शाह, सुटिङतर्फ कल्पना परियार, जुडोतर्फ सोनिया भट्ट र एथलेटिक्सतर्फ सरस्वती चौधरी, रहेका छन् । सिंहले महिला १०० सय (फ्रि स्टाइल), एलेक्सले पुरुष १०० मिटर (फ्रि स्टाइल), परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।

वाइल्ड कार्डद्वारा पाँच जना खेलाडीले सहभागिता जनाउने टोकियो ओलम्पिकमा २६ जनाको जम्बो टोली जाने कुराको नेपाल ओलम्पिक कमिटीले सार्वजनिक गरे पनि अहिले दुई जना पदाधिकारीले टोकियो ओलम्पिक नजाने निर्णय गरेका छन् । जसमा राखेपका उपाध्यक्ष शिव कोइराला (ज्वाला) र एनओसीका उपाध्यक्ष तेज गुरुङ रहेका छन् । यी दुवै पदाधिकारीले व्यक्तिगत कारण देखाउँदै आफू ओलम्पिकमा जान नसक्ने भनी जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उनीहरूले आफूलाई टोकियो ओलम्पिक जाने टोलीमा राखेकोमा एनओसीलाई धन्यवाद दिएका छन् । प्राप्त जानकारीअनुसार एनओसीले उनीहरूको पदीय मर्यादामाथि उचित व्यवस्थापन नगरेका कारण उनीहरूले अन्तिम समयमा आएर ओलम्पिक नजाने निर्णय गरेको बुझिएको छ । टोलीको ‘सेभ द मिसन’मा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल रहेका छन् ।

२४ सदस्यीय टोकियो ओलम्पिक टोलीमा पाँच खेलका चार प्रशिक्षकहरूमा सूर्यनारायण श्रेष्ठ (जुडो), असिम यादव (सुटिङ), शंकर कार्की (पौडी र सन्तोष श्रेष्ठ रहेका छन् । त्यस्तै पदाधिकारीहरूमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, चतुरानन्द बैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सह-महासचिव पिताम्बर तिम्सिना, सचिव तुलसा थापा, सदस्य राम अवाले, राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणा र युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने रहेका छन् ।

खेलका प्रशिक्षक सम्बन्धित भए पनि अन्य ओलम्पिक जाने पदाधिकारीहरूको टोलीमा असम्बन्धित खेलका पदाधिकारीहरूको बर्चश्व रहेको छ । त्यसमा एमाले नेता वामदेव गौतमकी पत्नी तथा नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापा जुडो खेलको व्यवस्थापक बनेकी छन् । त्यस्तै, फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ सुटिङको ब्यवस्थापक, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले पौडी सङ्घको व्यवस्थापक, नेपाल तेक्वान्दो अध्यक्ष प्रकाशशम्शेर राणा जुडोको व्यवस्थापक, पिताम्बर तिम्सिना एथलेटिक्सको व्यवस्थापक, राखेप सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ ओलम्पिक कमिटीको कर्मचारी र मन्त्रालयका सचिव केदार न्यौपाने ओलम्पिकको अट्याचीको बनेर जापान पुगेका छन् । एनओसीका अध्यक्ष र महासचिवलाई विशेष निमन्त्रणाका कारण उनीहरूले अन्य सङ्घको साहारा लिनु परेको छैन । यो टोलीमा थप चार जना सञ्चारकर्मीको नाम समावेस गरिएको जानकारी प्राप्त भएको छ । व्यक्तिगत लाखौँ खर्चमा जान लागेका भनिएका यी सञ्चारकर्मीहरूले कोरोना महामारीमा टोकियो गएर कस्तो रिपोर्टिङ गर्ने हुन त्यो अहिले चासोको विषय बनेको छ । सबैलाई थाहा भएकै कुरा हो, वाइल्ड कार्डमार्फत छनोट भएका नेपाली खेलाडीले ओलम्पिकमा कस्तो प्रदर्शन गर्लान् त्यो घाम जस्तै छर्लङ्ग छ । उनीहरूको प्रदर्शन भनेकै सहभागिता मात्रै जनाउने हो ।

अहिले प्रश्न उठेको छ, पाँच जना खेलाडीका लागि यति धेरै पदाधिकारी किन ? ओलम्पिक कमिटीका पदाधिकारीको जवाफ थियो– ओलम्पिक जान नपाएका पदाधिकारीलाई नौलो अनुभवका लागि । ती पदाधिकारीको जवाफमा कत्तिको सत्यता छ, त्यो उनकै थाहा होला । तर चुरो कुरो भने अर्कै छ, ज-जसले एनओसीको चुनावमा श्रेष्ठलाई सघाएका थिए त्यसको पुरस्कारको रूपमा उनीहरूलाई टोकियो ओलम्पिकको यात्रा गराइएको स्रोतको दाबी छ । त्यसको उत्कृष्ट उदारहण राखेपका पूर्वउपाध्यक्ष पिताम्बर तिमिल्सिना हुन् । गुटविपरीत श्रेष्ठलाई सघाएकै कारण तिमिल्सिनालाई खेलकुदबाट डाँडा कटाइएको थियो । त्यसपछि तिमिल्सिना अमेरिका पलायन भएका थिए । अहिले उनी अमेरिकाबाटै ओलम्पिकमा सहभागिता जनाउँदैछन् । त्यस्तै, जापान जाने ओलम्पिक टोलीमा अकल्पनिय दृष्य देखिएको छ । उक्त अकल्पनिय दृष्य राखेपका सदस्यसचिव रमेशकुमार सिलवालको हो । जीवनराम श्रेष्ठलाई एनओसीको अध्यक्षमा हराउन सम्पूर्ण शक्ति खर्चेका सिलवाललाई एनओसीले टोकियो ओलम्पिकको ‘सेभ द मिसन’ अर्थात टोली नेता बनाएर सबैलाई आश्चर्यचकित पारिदिएको छ ।

ओलम्पिक सहभागिताको इतिहासलाई पल्टाउँदा आफ्ना नजिकका, चाकरी/चाप्लुसी गर्नेलाई मुख्य प्राथमिकता राखिने भए पनि यो पटक आफूविरुद्ध नै खाल्डो खन्ने विपरीत ध्रुवको व्यक्तिलाई टोलीनेता बनाइनुमा ठूलै खिचडी पाकेको अनुमान लगाउन सकिन्छ । यसरी खेलकुदको कुम्भमेला ‘ओलम्पिक’ नेपाली खेलकुद पदाधिकारीका लागि विदेश सयर गर्ने र डलरमा भत्ता बुझ्ने स्थानको रूपमा परिणत हुनु खेलकर्मीका लागि दुर्भाग्यपूर्ण बनेको छ ।