सम्भावना बोकेको गाउँसहर ओझेलमा-आसमन बस्नेत

सम्भावना बोकेको गाउँसहर ओझेलमा-आसमन बस्नेत


धार्मिक तीर्थ र पर्यटकीय क्षेत्रको अत्यन्त सम्भावना बोकेको लमजुङको गाउँसहर क्षेत्र सम्भावना हुदाँहुँदै पनि ओझेलमा परेको छ । लमजुङ सदरमुकाम बेसीसहरसँगै जोडिएको र बेसीसहरबाट पुग्नका लागि निकै नजिक रहेको यो ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको क्षेत्र हो । जिल्ला विकास समिति, गाउँ विकास समिति र सम्बन्धित अन्य निकायले यसको विकासमा पहल नगर्दा लमजुङको प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावना रहेर पनि यो क्षेत्र पछि पर्नुलाई अत्यन्त विडम्बनाका साथ हेरिएको छ ।
लमजुङ कालिका मन्दिर, गढीमाई, जलदेवी, काउलीपानी देवी, चण्डीस्थान, गोरखनाथ मन्दिरजस्ता पवित्र धार्मिक स्थल, ऐतिहासिक लमजुङ दरबार, पुरानोकोट गढीजस्ता ऐतिहासिक र पुरातात्विक क्षेत्र रहे पनि गाउँसहरका बासिन्दा आफैंले पनि यो क्षेत्रको विकासका लागि बहस चलाउन नसकेको वास्तविकता पनि यो ठाउँ पछि पर्नुको अर्को अहम् कारकतत्त्व हो ।
गाउँसहरमा रहेको प्रख्यात लमजुङ कालिका मन्दिर लमजुङवासीको मात्र नभई बाहिरी जिल्लावासीको समेत धार्मिक आस्थाको केन्द्र हो । यो मन्दिर दर्शन गर्नका लागि टाढाटाढाबाट श्रद्धालुहरू आउने गर्छन् । प्रत्यक वर्ष चैत्राष्टमी र नवरात्रिमा ठूलो धार्मिक मेला लाग्ने यस क्षेत्रमा मनोकामना पूरा हुने विश्वासका साथ हजाराँै दर्शनार्थी आउने गर्दछन् । यहाँस्थित लमजुङ कालिकाको दर्शन गरेमा र पञ्चबलि दिएमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । लमजुङबाहेक तनहुँ, गोरखा, चितवन, कास्की र काठमाडौंसम्मका दर्शनार्थी यस मन्दिरमा पूजा गर्न र पञ्चबलि दिन आउँछन् ।
बाइसेचौबिसे राज्य छँदा शक्तिशाली लमजुङ राज्यको राजधानी रहेको गाउँसहरको ऐतिहासिक महत्त्व पनि उत्तिकै रहेको छ । नेपालको इतिहासअनुसार शाहवंशको प्रादुर्भाव यही गाउँसहरबाटै शाहवंशका पहिलो राजा यशोब्रह्म शाहले राज्य गरेका थिए । शाहवंशीय राजाहरू अहिले नभए पनि इतिहास बोकेको लमजुङ दरबार यद्यपि गाउँसहरमा छ । यसबाहेक पुरातात्विक महत्त्व बोकेका अरू थुप्रै वस्तु अझै पनि गाउँसहर वरपर पाइने स्थानीय बासिन्दा बताउँछन् । गाउँसहरदेखि केही माथि पुरानकोट थाप्लोमा अझै पनि पुराना घर र दरबारका भग्नावशेषहरू पाइन्छन् । तर, त्यहाँ अहिलेसम्म कसैले गएर उत्खनन गरेका छैनन् । पुराना पुरातात्विक महत्त्वका वस्तुहरू कतिपय लोप भइसके भने कतिपय लोप हुने अवस्थामा छन् ।
समुद्री सतहबाट एक हजार तीन सय मिटरको उचाइमा रहेको गाउँसहरस्थित कालिका मन्दिर र लमजुङ दरबार क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा विकास हुने सम्भावना प्रशस्त छन् । दृश्यावलोकनका लागि पनि गाउँसहर क्षेत्र निकै चर्चित छ । यहाँबाट उत्तरदेखि पूर्वसम्म फैलिएको अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बौद्ध हिमाल टलक्क टल्केका देख्न सकिन्छ । प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य मानिने गाउँसहरबाट देखिने हिमाल, पहाड र बेसी नागवेली परेको मर्स्याङ्दी नदीले त्यहाँ पुग्ने जोकोहीको मन रमाइलो बनाइदिन्छ । पहाडको टुप्पामा रहेको मन्दिरबाट तलतिर नागवेली हुँदै बगेको मर्स्याङ्दी र छेउमै रहेको सदरमुकाम बेसीसहर बजारको मनोरम दृश्यले पर्यटकको मन नै हरिदिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन पनि गाउँसहरबाट निकै रमाइलो देखिन्छ । बिहान सबेरै पर्ूर्वी क्षितिजबाट झुल्केघाम र पश्चिम बाखे्रजगत्मा हुने सूर्यास्तको दृश्य हेर्ने हो भने त्यो दृश्यले दार्जिलिङका टाइगर हिल बिसाइदिन्छ भन्छन् गाउँसहरवासी ।
गाउँसहर पुग्नका लागि लमजुङ सदरमुकाम बेसीसहरबाट एक घन्टाको उकालो यात्रा गर्नुपर्छ । हाल बेसीसहरबाट गाउँसहरसम्म कच्ची सडकसमेत निर्माण भई मोटरसमेत चल्न थालेकोले यहाँसम्मको यात्रा सहज हुन थालेको छ । बेसीसहरबाट दनाई गाउँ, चण्डीपौवा जङ्गल, चण्डीमाई मन्दिर हुँदै गाउँसहर पुग्न सकिन्छ । उकालो बाटो भएकाले सहरबजारमा बस्नेहरूलाई यात्रा केही कठिन भए पनि बाटोमा ठाउँठाउँमा रहेका चौतारामा थकाइ मार्दै, हिमालको दृश्यावलोकन गर्दै र प्रकृतिसँग रमाउँदै यात्रा गर्दा यात्रा निकै रोमाञ्चक हुने गर्छ । दनाई गाउँस्थित शमीको चौतारा, थापाको चौतरा, कमिनी चौतारा, नागिसार चौतारा र चण्डी चौतारामा विश्राम गर्दा त्यहाँ चल्ने शीतल हावाले थकान सबै बिर्साइदिन्छ । चैत-वैशाखमा बाटोमा पर्ने नागिसार फूलको सुवासले त्यहाँ पुग्ने जोकोहीलाई मग्न पारिदिन्छ भने चण्डी पौवा जङ्गलको बाटोको दायाँ-बायाँ लटरम्म फुलेका लालीगुराँसले सबैको मन हरिदिन्छ । जङ्गलमा विभिन्न मौसममा पाक्ने फलहरू काफल, ऐंसेलु, कटुस, तिँजु, दमाह गेडी पनि पाइने हुनाले ती फल टिप्दै खाँदै उकालो चढ्नेहरू पनि निकै भेटिन्छन् ।
चण्डी पौवा जङ्गल कटेपछि चण्डीदेवी स्थान आइपुग्छ । बडादसैं र चैतेदसैंमा पञ्चबलि दिनेहरूले यहाँ पूजाआजा गरी निगालोको लिङ्गो नगाडे फल प्राप्त नहुने विश्वास रहँदै आएको छ । चण्डीदेवी स्थानमा पुग्दा वरपरका डाँडाकाँडा, लहरै देखिने हिमाल र तल बेसीमा बेसीसहरको दृश्य निकै रमणीय देखिन्छ । बाहुन, क्षेत्री, नेवार, गुरुङ, दमाईं, सार्की जातिको बसोबास रहेको गाउँसहर लमजुङको सबैभन्दा बढी जनघनत्व भएको ठाउँ पनि हो । लमजुङमा सबैप्रथम २००५ सालमा स्थापना भएको विद्यालय लमजुङ माध्यमिक विद्यालय पनि यहीँ छ । जिल्लाको शैक्षिक जागरणको केन्द्र भए पनि यो स्थान अहिले निकै उपेक्षित छ ।