एनआरएनलाई प्रवासमा रहेका सबै नेपालीको साझा सङ्गठनको रूपमा विकसित गर्छु : भट्ट

एनआरएनलाई प्रवासमा रहेका सबै नेपालीको साझा सङ्गठनको रूपमा विकसित गर्छु : भट्ट


गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २५ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक समावेशी समुहको नेतृत्व गर्नुहुने सिपी भट्ट (गोविन्द भट्ट) को जन्म नुवाकोटमा भएको हो । विगत २२ वर्षदेखि बेल्जियमका बस्दै आउनुभएका भट्ट आफू संस्थाको स्थापनाकालदेखि नै एनआरएनए अभियानमा सक्रिय रहेको बताउनुहुन्छ । यसअलावा बेल्जियममा रहेका नेपालीहरूको व्यावसायिक संस्था नेप्लिज बिजनेश एशोसियसन बेल्जियमका पूर्वअध्यक्ष समेत रहेर काम गरिसक्नु भएका भट्टसंग युरोप प्रतिनिधि सनत आचार्यले गरेको संक्षिप्त कुराकानी ।

० प्रवासमा रहेका नेपालीहरूको संगठन गैरआवासीय नेपाली संघप्रति यहाँको बुझाइ के-कस्तो छ ?

– गैरआवासीय नेपाली संघ प्रवासमा बस्ने नेपालीहरूको साझा संगठन हो । यो संगठनले संसारभर छरिएर रहेका आप्रवासी नेपालीको अभिभावकत्व ग्रहण गरेको छ । यो संगठनलाई हामी प्रवासमा रहेका सबै नेपालीहरू हाम्रो साझा संगठनका रूपमा विकासित गर्दै लानुपर्छ । तर पनि यो संगठनभित्र बसेर काम गर्नेहरूको क्षमताको अभावका कारण यसले चाहे जति काम र मन जित्न सकेको छैन । खास गरी प्रवासी नेपालीहरूको हक र हितका लागि सक्रिय रहने यो संगठन बढी राजनीति र केही भ्रष्ट प्रवृत्तिका मानिसले प्रवेश पाएपछि यसको साख अलिक गिर्दो छ । हामी बिस्तारै यसको शुद्धिकरणतर्फ लाग्नु पर्छ । प्रवासी नेपालीहरूलाई यो संगठन आवश्यक छ ।

० गैरआवासीय संघको २०२१ देखि २०२३ को नेतृत्व लिन यहाँको उम्मेदवारी वास्तवमा केका लागि हो ?
– म दुई कार्यकाल गैरआवासीय नेपाली संघको सल्लाहकार, एक कार्यकाल सदस्य, व्यवसायी संघ बेल्जियमको सदस्य हुँदै अध्यक्षलगायत समेत भएँ । अरु सामाजिक संघ-संस्थामा पनि काम गरे । त्यस्तै म यो संघमा अध्यक्ष पदका लागि २०१३ बाट नै आकाङ्क्षी थिएँ । तर, त्यतिबेला कहिले सहमतिका लागि छोडेँ । कहिले साथीभाइहरूको आग्रहले छोडेँ । त्यसको परिणामस्वरुप मलाई यो पटक सबैले सहयोगको आश्वासन दिनुभयो । शुभचिन्तक, सदस्य र अग्रज अभियन्ताहरूले मलाई उठ भनेर भन्नुभयो र मैले उम्मेदवारी घोषणा गरेको हुँ । म सबैको साझा उम्मेदवारको रूपमा अहिले छु । मैले संघको नेतृत्व लिने अवसर पाए भने यो अभियानलाई सबैको साझा अभियान बनाउनसक्ने भएकोले मैले उम्मेदवारी दिएको हुँ ।

० यदि गैरआवासीय नेपाली संघको नेतृत्व लिने अवसर आयो भने तपाईंको प्राथमिकतामा के-के पर्छन् ?
– मैले संघको नेतृत्व लिने अवसर पाए भने सबभन्दा पहिले संघलाई सबैको साझा संगठन बनाउन विभिन्न खाले क्रियाकलाप गर्छु । त्यस्तै नेपाली भाषा, कला र संस्कृति झल्किने नेपाल हाउस जुन धेरै लामो समयदेखि पेण्डिङ अवस्थामा रह्यो त्यसलाई सुचारु गर्छु । त्यस्तै, युवाहरूका लागि नेतृत्व र क्षमता विकासका लागि काम गर्दै उनीहरूलाई संघमा आवद्ध गराउँदै लग्छु । नेपाली युवाहरूलाई खेलकुदतर्फ आकर्षित गराउँदै युरोपभरि उनको क्षमता प्रदर्शन गर्न सक्ने वातावरण निर्माण गर्छु । युरोपका कुनै पनि देशबाट आएका प्रवासी नेपालीहरूलाई बेल्जिमयमा रोजगारी र कानुनको विषयमा संघको तर्फबाट जानकारी दिने वातावरण बनाउँछु । त्यस्तै व्यापार मेला आयोजना गरी नेपालमा उत्पादन भएका बस्तुहरूको बजारीकरणमा सहयोग पुर्याउँछु । नेपालको पर्यटन प्रबर्धनका लागि दूतावास, पर्यटन बोर्ड लगायत विभिन्न निकायहरूसंग समन्वय गरी नेपालको पर्यटन क्षेत्रलाई सहयोग गर्छु ।

बेल्जियममा बसोबास गर्ने प्रवासी नेपालीहरूको तथ्याङ्कलाई अध्यावधिक गर्ने सोच रहेको छ । यसका लागि मलाई दर्बिलो र इमानदार टिम आवश्यक छ । बेल्जियमबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूले मलाई काम गर्ने टिम दिनुहुन्छ भन्नेमा पूर्ण रुपले विश्वस्त छु । अर्को महत्वपूर्ण कुरा के भने बेल्जियमका बस्ने प्रवासी नेपालीहरूसँग निरन्तर छलफल गरी एनआरएनएलाई सबैको साझा संगठनको रूपमा विकास गर्न सम्भव भएसम्म पहल गर्छु । समग्रमा नेपाल र नेपालीको पहिचान बनाउने कामतर्फ लाग्छु ।

० यो अवस्थामा चुनाव नभैदिए हुन्थ्यो, विगतमा जस्तै मिलेर गए हुन्थ्यो भन्ने आम बेल्जियमवासी प्रवासी नेपालीहरूको छ । सहमतिमा जानुपर्यो भन्ने मनोभावना छ । के यो सहमतिमा जान सक्ला ?
– हामी सहमतिकै प्रक्रियामा छौँ । यसैक्रममा हामी चौथो पटकसम्म बसिसक्यौँ र आज पनि सहमतीय परम्परालाई निरन्तरा दिन घनीभूत छलफल हुँदैछ । म सदैव सहमतिकै पक्षमा छु । यो अवस्थामा चुनाव गर्न हुँदैन र सबै सहमतिमा गए आर्थिक, समय र अन्य विभिन्न कुराको बचत हुन्छ । सर्वसम्मत गरौँ भन्नेमा छौँ । सहमतिको विपक्षमा म कहिले पनि हुँदैन । सबै साथीहरू लागि रहनुभएको छ, आशा छ आज परिणाम आउला भन्ने । हामीहरू चुनावी प्रकृयामा धेरै अगाडि बढिसकेका छौँ । तर पनि सहमति हुन्छ भने सामुहिक निर्णयलाई म नकार्न सक्दैन ।

० यदि एनआरएनएमा समहति नै गरेर जाने हो भने त्यसका लागि सहमतीय बिन्दुहरू के–के हुन सक्छन् ? अर्थात्, सहमतिका आधारहरू के–के हुन सक्छन् ?
– सहमतिको बिन्दु भनेको निःस्वार्थ भावना हो । यदि हामी लोभ गर्यौँ भने सहमति हुन सक्दैन । जो होस्, त्याग गर्यौँ भने सहमति हुन्छ । दोश्रो कुरा, संगठनात्मक रूपले हामी पहिलो अवस्थामा छौँ । पछिल्लो समयमा साथीहरूले सदस्यता बनाउनेदेखि लिएर प्रचारप्रसार गर्ने कामलाई निरन्तरता दिएका छौँ । गत निर्वाचनमा पनि हामीले तत्कालिन नेकपाका साथीहरूलाई सहर्ष स्वीकार गरेर चित्र सुवेदीको अध्यक्षतामा समिति बनायौँ । यो पटक हाम्रो पालो स्वतः आउँछ । त्यसैले पनि यसमा हाम्रो दाबी अझ बढी छ । तर हाम्रो नेतृत्वमा साथीहरू आउनुभयो भने सम्मानजनक पदहरू दिएर हामी सहमतिमा जान सक्छौँ । केही साथीहरूले पालो कुर्नु पर्ला । सबैको पालो आउँछ ।